काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले देशव्यापी रुपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट १० हजार ३९२ जना लाभान्वित भएका छन् ।
ग्लोबल मनी विक २०२५ लाई सफल बनाउने उद्देश्यले बैङ्कले देशैभरका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
अन्तराष्ट्रिय रुपमा हरेक वर्ष मार्च महिनामा तेस्रो हप्ता मनाइने ग्लोबल मनी विक बैङ्कले चैत ४ देखि १० गतेसम्म साताव्यापी सञ्चालन गरेको थियो ।
बैङ्कले विभिन्न स्कुल तथा कलेजका हजारौं विद्यार्थीहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिबृद्धि कार्यक्रम सञ्चालन गरेको थियो ।
अभियान अन्तरगत बैङ्किङसँग कारोबार गर्दा हुने फाइदा, डिजिटल बैङ्किङ, क्यूआर, पोस सेवा, आरबीबी स्मार्ट बैङकिङ, इन्टरनेट बैङ्किङ, पीन तथा पार्सवर्ड सुरक्षा, ओटिपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।
बैङ्कका शाखा कार्यालयहरुमा विद्यार्थीहरुलाई भ्रमण गराई सैद्धान्तिक तथा प्रयोगात्मक विधिबाट वित्तीय सचेतना बारे ज्ञान प्रदान पनि गरिएको बैङ्कले जनाएको छ । यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृष्य सामग्रीहरु समेत प्रसारण गरिएको थियो ।
सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७६ भन्दा बढी मुलुकमा सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ मुलतः किशोर÷किशोरी तथा युवा÷युवती लक्षित वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो ।
साझा अर्थ संवाददाता