चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो सात महिनामा सेयर र घरजग्गा कारोबारबाट सरकारलाई ३५ अर्ब ५८ करोड ८७ लाख पुँजीगत लाभकर प्राप्त भएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड ९सिडिएससी० र भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट प्राप्त छुट्टाछुट्टै तथ्यांक अनुसार यो गत आवको सोही अवधिको तुलनामा ४५ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा २४ अर्ब ५१ करोड ८७ लाख यस्तो लाभकर उठेको थियो ।
सात महिनामा सेयर कारोबारबाट १० अर्ब ८७ करोड ८६ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको छ । यो गत आवको सोही अवधिको तुलनामा २८० प्रतिशतले धेरै हो । गत आवको पहिलो सात महिनामा दुई अर्ब ८६ करोड ५९ लाख रुपैयाँ यस्तो राजस्व उठेको थियो । गत आवभरमा भने पाँच अर्ब ५० करोड ७७ लाख रुपैयाँ यस्तो पुँजीगत लाभकर उठेको थियो ।
सेयर कारोबारमा हुने खुद नाफामा दीर्घकालीनतर्फ ५ प्रतिशत र अल्पकालीनतर्फ ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ ।
समीक्षा अवधिमा घरजग्गा कारोबारबाट भने करिब पौने २५ अर्ब लाभकर उठेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा यस्तो कारोबारबाट उठ्ने राजस्व १४.११ प्रतिशतले बढेको छ ।
गत आवको सोही अवधिमा भने घरजग्गा कारोबारबाट २१ अर्ब ६५ करोड २८ लाख रुपैयाँ यस्तो राजस्व उठेको थियो ।
साझा अर्थ संवाददाता