पात्रो

रेडियो

समाचार खोजी

७ वर्षदेखि रोकिएको आयोजना डेढ वर्षमै सम्पन्न, निजी क्षेत्रको ऐतिहासिक सफलता

साझा अर्थ संवाददाता १६ असार २०८३, मङ्गलवार

काठमाडौँ, १६ असार: नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा आफ्नो क्षमता प्रमाणित गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ। विगत सात वर्षदेखि चिनियाँ कम्पनी पिङ्गाओ ग्रुपको सुस्त गतिका कारण अलपत्र परेको मर्स्याङ्दी करिडोर अन्तर्गतको दुई सय बीस किलोभोल्ट मार्कीचोक–भरतपुर प्रसारण लाइनको २८ किलोमिटर खण्ड निजी क्षेत्रको सक्रियतामा डेढ वर्षभित्रै निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ। चिनियाँ कम्पनीले काम सक्ने नदेखेपछि नेपाल विद्युत प्राधिकरणले २०८१ मंसिरमा यो खण्ड निर्माणको जिम्मेवारी निजी क्षेत्रका प्रवर्द्धकहरूलाई सुम्पेको थियो।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाको नेतृत्वमा गठित समितिले स्थानीय समस्या सुल्झाउँदै भीभा कन्स्ट्रक्सन र भूगोल इन्फ्रास्ट्रक्चरमार्फत यो काम पूरा गराएको हो। यस आयोजनामा सुपर दोर्दी, न्यादी, र चेपेखोला जस्ता ६ वटा निजी जलविद्युत आयोजनाहरूले संयुक्त रूपमा करिब ४ करोड ९६ लाख ९५ हजार रुपैयाँ लगानी गरेका छन्। तनहुँको मार्कीचोक सबस्टेसनदेखि चितवनको न्यू भरतपुर सबस्टेसनसम्मको यो लाइन निर्माण भएसँगै प्रसारण पूर्वाधार अभावमा निजी क्षेत्रको विद्युत खेर जाने जोखिम अन्त्य भएको छ।

यस उपलब्धिलाई पूर्वऊर्जा मन्त्री कुलमान घिसिङले ऊर्जा विकासको महत्त्वपूर्ण कोसेढुङ्गा र सार्वजनिक निजी साझेदारीको उत्कृष्ट नमूना भन्नुभएको छ। प्राधिकरणका अनुसार युरोपियन लगानी बैंक, नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानी रहेको यस लाइनमा विद्युत प्रवाह गरी परीक्षण सुरु गरिएको छ। यो सफलताले निजी क्षेत्र जलविद्युत उत्पादनमा मात्र सीमित नरही सरकारले अनुमति दिएमा प्रसारण लाइन निर्माण र विद्युत व्यापार गर्न पनि सक्षम रहेको स्पष्ट सन्देश दिएको छ।

36 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु