काभ्रेपलाञ्चोक, १६ असार । काभ्रे जिल्लामा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण फैलिएपछि हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा मारेर नष्ट गरिएको छ। जिल्ला पशु सेवा कार्यालय धुलिखेलका अनुसार बनेपा नगरपालिकाका वडा ६ र १३ तथा पनौती नगरपालिकाका वडा ७, ८ र ९ का व्यावसायिक पोल्ट्री फार्ममा सङ्क्रमण पुष्टि भएपछि ४० हजार ७२९ हाँस र लेयर्स कुखुरा नष्ट गरिएको हो।
वरिष्ठ पशु चिकित्सक डा. बज्रकिशोर ठाकुरका अनुसार मरेका चराचुरुङ्गीलाई खोला, झाडी वा खुला स्थानमा जथाभावी फाल्ने गरेको पाइएको छ, जसले काग र अन्य जङ्गली चरामार्फत रोग थप फैलिन सक्ने आशङ्का गरिएको छ। सङ्क्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन र ओसारपसार नियन्त्रणका काम तीव्र पारिएको उनले बताए। प्रयोगशाला परिणाम ढिलो आउँदा प्रदेश र स्थानीय तहले समयमा कदम चाल्न नसकेको पनि बताइन्छ।
पशु चिकित्सकले व्यावसायिक फार्ममा जैविक सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गर्दै खोरमा अनावश्यक मानिसको प्रवेश निषेध, नियमित सरसफाइ र सुरक्षित ओसारपसारमा जोड दिए। नाला, रोशी र खावा चेकपोस्टमा अवैध रूपमा ओसारिने कुखुराको निगरानी बढाइएको छ। गत चैतमा काभ्रे र सिन्धुपाल्चोकमा सम्भावित जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउने निर्णय गरिएको थियो। अहिले सङ्क्रमण नियन्त्रणका लागि सबै निकाय परिचालित भएका छन्।