पात्रो

रेडियो

समाचार खोजी

आज १५ असार धान दिवसका साथै दहीचिउरा खाने सांस्कृतिक पर्व मनाइँदै

साझा अर्थ संवाददाता १५ असार २०८३, सोमवार

काठमाडौँ, १५ असार : नेपाली समाजमा आज असार १५ गते धान दिवसका साथै दहीचिउरा खाने सांस्कृतिक पर्व पनि मनाइँदैछ। खेतमा हिलो छचल्काएर, रोपाइँ गरेर थकित किसानले आज दहीचिउरा खाएर शक्ति सञ्चय गर्ने गर्छन्। दहीले शरीरलाई शीतलता प्रदान गर्नुका साथै पाचनशक्ति बढाउँछ भन्ने विश्वास गरिन्छ।

नेपाली संस्कृतिमा दहीको विशेष महत्त्व छ। शुभकार्य, यात्रा वा विदेश जानुअघि दही–अक्षता र रातो टीका लगाउने परम्परा रहिआएको छ। यसलाई सगुनका रूपमा पनि लिइन्छ। आयुर्वेदका अनुसार भोजनपछि दही मथेर बनाइएको मोही पिउनु औषधिसमान मानिन्छ, जसले पाचन समस्या तथा पखालामा राहत दिन्छ।

वि.सं. २०६१ मंसिर २९ को मन्त्रीस्तरीय निर्णयबाट २०६२ असार १५ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषिप्रधान नेपालमा धान मुख्य बाली भएकाले आजका दिन किसान ‘छुपु छुपु हिलोमा धान रोपेर छोडौंला’ जस्ता लोकदोहोरी गाउँदै रोपाइँमा जुट्छन्। युवायुवतीले हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन पनि गर्छन्। असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता छ।

तर, यस वर्ष असार मध्यसम्म पनि देशका अधिकांश भागमा पर्याप्त वर्षा नभएका कारण अपेक्षित रोपाइँ हुन सकेको छैन। साथै, केही स्थानमा रासायनिक मल अभावको गुनासो किसानले गरे पनि कृषि, वन तथा पर्यावरण मन्त्रालयले पर्याप्त मौज्दात रहेको जनाएको छ। यसरी असार १५ गते धान दिवस र दहीचिउरा पर्व दुवैको संयोजनले नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पहिचान बलियो बनाएको छ।

59 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ