पात्रो

रेडियो

समाचार खोजी

नेपालमा खेतीयोग्य जमिनको ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

साझा अर्थ संवाददाता १६ असार २०८३, मङ्गलवार

काठमाडौः नेपालको खेतीयोग्य जमिनको ठूलो हिस्सा अझै पनि आकाशे पानीमै निर्भर रहेको छ। सिँचाइ तथा जलस्रोत विभागका अनुसार हालसम्म देशको आवश्यक सिँचाइ क्षेत्रमध्ये ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा विस्तार भएको छ। नेपालमा कूल ३५ लाख ५७ हजार ७६४ हेक्टर खेतीयोग्य जमिन रहेकोमा २५ लाख ३६ हजार ३१९ हेक्टरमा नियमित सिँचाइ आवश्यक पर्छ तर हाल १५ लाख ९० हजार ३८८ हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको विभागको तथ्याङ्क छ।

यस वर्ष समयमै पर्याप्त वर्षा नहुँदा धेरै जिल्लाका किसान रोपाइँका लागि पानी अभाव झेलिरहेका छन्। कतिपय स्थानमा रोपाइँका लागि राखिएको धानको बीउ नै सुक्न थालेको छ भने धेरै किसान अझै आकाशे पानीको प्रतीक्षामा छन्। यस्तो अवस्थाले धान उत्पादनमा गम्भीर असर पर्ने चिन्ता बढेको छ।

सिँचाइ तथा जलस्रोत विभागका सूचना अधिकारी रामप्रसाद पौडेलका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा विभागले १६ हजार ३०८ हेक्टरमा थप सिँचाइ विस्तार गर्ने लक्ष्य राखेको थियो। चालु आर्थिक वर्ष २०८२/८३ मा ६ हजार ७५० हेक्टर क्षेत्रमा नयाँ सिँचाइ पुर्याउने लक्ष्य रहे पनि चैत मसान्तसम्म चार हजार ४८ हेक्टरमा मात्र काम सम्पन्न भएको छ। आन्दोलन र आयोजना कटौतीका कारण लक्ष्य प्राप्तिमा कमी आएको विभागले जनाएको छ।

कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा र जलवायु परिवर्तनको चुनौती सामना गर्न दीर्घकालीन तथा भरपर्दो सिँचाइ पूर्वाधारको विकास आवश्यक रहेको विभागको भनाइ छ। सरकारले सिँचाइ विस्तारलाई प्राथमिकता दिए पनि लक्ष्यअनुसार काम सम्पन्न हुन नसक्दा किसान अझै वर्षाको भरमा रहनुपर्ने बाध्यता छ। धान उत्पादनमा आत्मनिर्भर हुने सरकारी लक्ष्य सफल बनाउन समयमै सिँचाइ पूर्वाधार विस्तार र प्रभावकारी कार्यान्वयनको खाँचो देखिएको छ।

50 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्