पात्रो

रेडियो

समाचार खोजी

अरनिको राजमार्ग स्तरोन्नतिमा बिटुमिन अभावले दुई महिनादेखि काम ठप्प

साझा अर्थ संवाददाता ४ असार २०८३, बिहिवार

काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य बिटुमिन अभावका कारण दुई महिनादेखि रोकिएको छ। गत चैतमा रात्रिकालीन समयमा सवारी बन्द गरेर कालोपत्रेको काम भए पनि आवश्यक कच्चा पदार्थ नपाउँदा वैशाखदेखि नै काम अवरुद्ध भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार पहिलो चरणमा २.५ किलोमिटर दुईतर्फी कालोपत्रे गरिएको भए पनि बाँकी १.५ किलोमिटरको काम र अस्फाल्ट थप्ने कार्य बिटुमिन आयात नहुँदा रोकिएको हो। हाल यात्रुको सहजताका लागि खाल्डाखुल्डी मात्र पुर्ने काम भइरहेको छ।

बिटुमिन आएपछि दोस्रो चरणको काम थालिने योजना छ। सो खण्डमा २० सेन्टिमिटर बाक्लो सिमेन्ट–ग्राभेल बेस र दुई तहको कालोपत्रे (डीबीएम र अस्फाल्ट) गरिनेछ। गत कात्तिकमा सी–एन–ए–वान काली जेभीसँग रु ३१ करोड ५६ लाख (भ्याटबाहेक) मा ठेक्का भएको थियो र आगामी पुसभित्र काम सक्ने लक्ष्य छ। यसअघिको निर्माण कम्पनीले प्रगति गर्न नसकेपछि गत फागुनमा ठेक्का रद्द गरिएको थियो।

उक्त सडक चीनको नाका तातोपानी तथा दोलखा, रामेछापलगायत जिल्लाको प्रमुख संपर्कमार्ग हो। बिटुमिन आयात भएलगत्तै कामले गति लिने आशा गरिएको छ। 

34 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ