काठमाडौँ, १३ असार: देशको पूर्वी र मध्य भेगमा मनसुनी वायु सक्रिय भएको छ भने बाँकी क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्र, गण्डकीको केही र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा मनसुन फैलिसकेको छ। आगामी चारदेखि पाँच दिनभित्र गण्डकी र लुम्बिनीका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि मनसुन विस्तार हुने सम्भावना छ।
अहिले देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली र तराईमा आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो र राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली हुने देखिन्छ। यस क्रममा कोशी, बागमती र गण्डकीका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्छ।
मौसम महाशाखाले कोशी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। अर्कोतर्फ, मनसुन पूर्ण रूपमा नपुगेका कारण लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा अझै पनि तातो हावा (लू) चल्ने सम्भावना छ। त्यसैले ती क्षेत्रका बासिन्दालाई गर्मी र तातो हावाबाट बच्न तथा वर्षा हुने क्षेत्रमा हुन सक्ने भूक्षय र बाढीको जोखिमप्रति सचेत रहन महाशाखाले विशेष आग्रह गरेको छ।