काठमाडौँ, २६ जेठ: नेपाल–चीन सीमावर्ती लोमान्थाङ गाउँपालिका–१, नेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले गत जेठ १५ गते सम्म ६ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। सन् २०२५ को सेप्टेम्बर १६ गत असोज देखि कोराला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको हो।
प्रमुख भन्सार अधिकृत विदुर चुडालका अनुसार कोराला व्यापारिक मार्ग हुँदै नेपाल भित्रिएका विद्युतीय सवारी साधन (इभी), तयारी पोशाक (गारमेन्ट्स) र अन्य उपभोग्य सामग्रीको आयातबाट यो राजस्व उठेको हो। हिमाली जिल्ला मुस्ताङमा नाका पूर्ण रूपमा खुलेसँगै व्यापारिक गतिविधि तीव्र बनेको र यसले राष्ट्रिय राजस्व संकलनमा समेत ठुलो योगदान पुर्याएको भन्सार अधिकारीहरूले बताएका छन्।