पात्रो

रेडियो

समाचार खोजी

स्मार्ट टेलिकम लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पक्राउ

सीआईबीद्वारा ठगी तथा आपराधिक विश्वासघातमा अनुसन्धान

साझा अर्थ संवाददाता ३० वैशाख २०८३, बुधवार
समाचार सारांश
  • सीआईबीले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ।
  • रद्द भएको स्मार्ट टेलिकमको सम्पत्तिमा सरकारको हक टुटाउने उद्देश्यले गरिएको लिलामी प्रक्रियामा पाण्डेको संलग्नतामाथि ठगी र आपराधिक विश्वासघातको अनुसन्धान भइरहेको छ।
  • बैंकले लिलामीबाट संकलन गरेको करिब ४० करोड रुपैयाँ घरभाडा र विद्युत महसुलबापत घरधनीलाई भुक्तानी नगरेको विषयमा पनि छानबिन हुँदैछ।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ : केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको जनाएको छ।

सीआईबीका अनुसार, स्मार्ट टेलिकम प्रालिले २०७० वैशाख २ गते आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि अनुमतिपत्र लिएको थियो। तर, कम्पनीले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ५ बमोजिम २०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको थियो।

अनुमतिपत्र रद्द भएपछि दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको सीआईबीको विवरणमा उल्लेख छ।

सीआईबीले नेपाल सरकारको सम्पत्तिमा रहेको हक टुटाउने उद्देश्यका साथ लिलामी प्रक्रिया अघि बढाइएको भन्दै मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाएको छ।

पाण्डे लोन रिकभरी कमिटीका अध्यक्षसमेत रहेको हैसियतमा उक्त लिलामी प्रक्रियामा संलग्न रहेको सीआईबीको भनाइ छ। उनलाई २०८३ वैशाख २९ गते राति करिब ८ बजे जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्कस्थित मदन भण्डारी राजमार्गबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

सीआईबीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २०८२ असोज ३ गते प्रकाशित लिलामी सूचनाको बुँदा नम्बर २ मा घरधनीलाई स्मार्टसेलले बुझाउनुपर्ने बाँकी घरबहाल र विद्युत् महसुलबापत करिब ४० करोड रुपैयाँसमेत कबुल गर्नुपर्ने उल्लेख गरेको जनाएको छ।

ब्यूरोका अनुसार, उक्त रकम बैंकले लिएको तर हालसम्म घरधनीलाई घरबहाल तथा विद्युत् महसुल भुक्तानी नगरेको विषयमा समेत ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

सीआईबीले पाण्डेमाथि अनुसन्धान जारी रहेको जनाएको छ।

सीआईबीको विवरण:

68 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु