काठमाडौँ : लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले सातौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको साधारण सभा २०८३ जेठ २९ गते काठमाडौँको बालुवाटारस्थित डेलिस ओपेरा रेस्ट्रो एन्ड बैंक्वेटमा साँझ ५ बजेदेखि हुने भएको छ।
साधारण सभामा कम्पनीले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने प्रस्ताव लैजाने भएको छ। यससँगै कम्पनीले आइपिओ निष्कासन प्रक्रिया अघि बढाउने तयारी गरेको संकेत देखिएको छ। यद्यपि, आइपिओ निष्कासनका लागि साधारण सभाको स्वीकृतिसँगै नियामकीय प्रक्रिया पूरा हुनुपर्नेछ।
सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीसहित लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभाको कार्यसूचीमा राखेको छ। यसबाहेक प्रबन्धपत्र तथा नियमावली संशोधन, सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने र विविध प्रस्ताव पनि सभामा छलफल हुने जनाइएको छ।