पात्रो

रेडियो

समाचार खोजी

आईसीआरए नेपालले प्रभु बैंकसहित तीन वित्तीय संस्थाको रेटिङ घटायो

साझा अर्थ संवाददाता २३ वैशाख २०८३, बुधवार
समाचार सारांश
  • आईसीआरए नेपालले प्रभु बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकको रेटिङ घटाएको छ।
  • घटेको रेटिङले यी बैंकहरूको वित्तीय दायित्व पूरा गर्ने क्षमता पहिलेभन्दा कमजोर भएको र मध्यम जोखिमको संकेत गर्दछ।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ : आईसीआरए नेपाल लिमिटेडले प्रभु बैंक लिमिटेड, शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडको रेटिङ घटाएको छ। सार्वजनिक विवरणअनुसार, प्रभु बैंकको इस्युअर रेटिङ र सबअर्डिनेटेड डिबेन्चर रेटिङ घटाइएको हो भने शाइन रेसुंगा र लुम्बिनी विकास बैंकको इस्युअर रेटिङ घटाइएको हो।

प्रभु बैंकको इस्युअर रेटिङ यसअघि रहेको बीबीबी माइनस बाट घटाएर बीबी प्लस कायम गरिएको छ। त्यस्तै, बैंकको १ अर्ब रुपैयाँ बराबरको सबअर्डिनेटेड डिबेन्चर रेटिङ पनि एलबीबीबी माइनस बाट घटाएर एलबीबी प्लस कायम गरिएको छ। प्रभु बैंकको रेटिङलाई भने आईसीआरए नेपालले अझै पनि नकारात्मक प्रभावसहित निगरानीमा राखेको छ।

त्यस्तै, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको इस्युअर रेटिङ बीबी प्लस बाट घटाएर बीबी कायम गरिएको छ। यसअघि उक्त रेटिङ नकारात्मक प्रभावसहित निगरानीमा रहेकोमा नयाँ रेटिङसँगै निगरानी सूचीबाट हटाइएको छ।

लुम्बिनी विकास बैंकको इस्युअर रेटिङ पनि बीबी बाट घटाएर बीबी माइनस कायम गरिएको छ। लुम्बिनी विकास बैंकको रेटिङलाई पनि नयाँ मूल्यांकनसँगै नकारात्मक प्रभावसहित निगरानी सूचीबाट हटाइएको छ।

आईसीआरए नेपालका अनुसार यस्तो रेटिङले सम्बन्धित संस्थाको समग्र वित्तीय दायित्व पूरा गर्ने क्षमतासम्बन्धी राय जनाउँछ। बीबी श्रेणीको रेटिङलाई वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेतका रूपमा बुझिन्छ। यस्तो रेटिङ कुनै पनि सेयर वा धितोपत्र किन्न, बेच्न वा होल्ड गर्न दिइएको सिफारिस भने होइन।

रेटिङ घट्नुको अर्थ कुनै संस्था तत्काल संकटमा परेको भन्ने होइन। तर, रेटिङ एजेन्सीले गरेको पछिल्लो मूल्यांकनअनुसार सम्बन्धित संस्थाको क्रेडिट प्रोफाइल पहिलेको तुलनामा कमजोर देखिएको बुझिन्छ। त्यसैले यस्ता रेटिङ परिवर्तनलाई लगानीकर्ता तथा बजार सहभागीहरूले संस्थाको वित्तीय अवस्था बुझ्ने एउटा सूचकका रूपमा लिन सक्छन्।

156 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ