पात्रो

रेडियो

समाचार खोजी

कर्जा नोक्सानी घट्दा विकास बैङ्कहरूको नाफा ३१.८४ प्रतिशतले बढ्यो

साझा अर्थ संवाददाता १७ माघ २०८२, शनिवार

काठमाडौँ । विकास बैङ्कहरूको कुल नाफा ३१.८४ प्रतिशतले बढेको छ । कर्जा नोक्सानी घट्दै जाँदा चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म विकास बैङ्कहरूको नाफामा सुधार देखिएको हो । ऋण असुलीमा क्रमिक सुधार र प्रोभिजनिङ खर्च घटेपछि बैङ्कहरूको वित्तीय नतिजा सकारात्मक बनेको हो ।
नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत कर्जा पुनर्संरचना र पुनःतालिकीकरण सम्बन्धी व्यवस्थाको प्रभाव देखिँदै जाँदा विकास बैङ्कहरूको वित्तीय अवस्था सुधारोन्मुख देखिएको हो ।
अहिले सञ्चालनमा रहेका १६ विकास बैङ्कमध्ये सप्तकोशी डेभलपमेन्ट बैङ्क बाहेक १५ वटाले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सार्वजनिक विवरणअनुसार १५ वटा बैङ्कले पुस मसान्तसम्म कुल तीन अर्ब ४० करोड ७४ लाख रुपियाँ खुद नाफा आर्जन गरेका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.८४ प्रतिशतले बढी हो ।
गत आवको दोस्रो त्रैमाससम्म विकास बैङ्कहरूले दुई अर्ब ५८ करोड ४४ लाख रुपियाँ नाफा आर्जन गरेका थिए ।
पुस मसान्तसम्म सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैङ्कमा मुक्तिनाथ विकास बैङ्क रहेको छ । मुक्तिनाथले ६७ करोड २० लाख रुपियाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३३.५७ प्रतिशतले बढी हो ।
मुक्तिनाथलाई पछ्याउँदै गरिमा विकास बैङ्कले ६३ करोड ५१ लाख रुपियाँ नाफा आर्जन गरेएको छ । यस्तै शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले ४० करोड ४२ लाख, कामना सेवा विकास बैङ्कले ३९ करोड ४५ लाख र ज्योति विकास बैङ्कले ३१ करोड १२ लाख रुपियाँ नाफा आर्जन गरेका छन् ।
महालक्ष्मी विकास बैङ्कले ३० करोड ५९ लाख, सांग्रिला डेभलपमेण्ट बैङ्कले ३० करोड २५ लाख र लुम्बिनी विकास बैङ्कले २८ करोड ५३ लाख रुपियाँ नाफा आर्जन गरेका छन् । नाफा बृद्धिदरका आधारमा लुम्बिनी र सांग्रिला अगाडि देखिएका छन् ।
समिक्षा अवधिमा सालपा विकास बैङ्क, सिन्धु विकास बैङ्क र नारायणी डेभलपमेण्ट बैङ्क भने घाटामा देखिएका छन् । उच्च खराब कर्जा र निरन्तर प्रोभिजनिङ दबाबका कारण यी बैङ्कको वित्तीय अवस्था कमजोर देखिएको हो ।
चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा सात विकास बैङ्कले खराब कर्जा अनुपात (एनपीएल) घटाएका छन् । खराब कर्जा घटाउने बैङ्कहरूमा गरिमा, शाइन रेसुङ्गा, ज्योति, मितेरी, ग्रीन, सालपा र सिन्धु विकास बैङ्क रहेका छन् ।
सबैभन्दा थोरै खराब कर्जा मितेरी विकास बैङ्कको १.२३ प्रतिशत रहेको छ भने सबैभन्दा धेरै खराब कर्जा नारायणी विकास बैङ्कको ५७.४८ प्रतिशत रहेको छ ।
प्रकाशित विवरणअनुसार नाफा बढे पनि १० विकास बैङ्क मात्र लाभांश दिन सक्ने अवस्थामा देखिएका छन् भने पाँच बैङ्कको लाभांश क्षमता ऋणात्मक रहेको छ । सबैभन्दा धेरै लाभांश क्षमता कामना सेवा विकास बैङ्कको १५.३२ प्रतिशत रहेको छ ।

52 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ