काठमाडौँ । नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ योगदान गरेको छ । २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले कोषले उक्त सहयोग उपलब्ध गराएको हो ।
नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त रकम बराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा अर्थ सचिव डा. घनश्याम उपाध्याय, सहसचिव उत्तरकुमार खत्री तथा नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीको उपस्थिति रहेको थियो ।
अर्थमन्त्री खनालले पुनर्निर्माण कोषमा योगदान पुर्याएकोमा नेपाल सरकारको तर्फबाट नागरिक लगानी कोषलाई धन्यवाद ज्ञापन गर्दै यस्तो सहकार्यले पुनर्निर्माण र आर्थिक पुनरुत्थानलाई गति दिने विश्वास व्यक्त गर्नुभयो ।
सरकारका अनुसार नागरिक लगानी कोषको पछिल्लो योगदानसहित हालसम्म भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १४ करोड ०७ लाख रुपैयाँ जम्मा भइसकेको छ । कोषमा विभिन्न संघ–संस्था तथा निकायको सहभागिता बढ्दै गएको जनाइएको छ ।