पात्रो

रेडियो

समाचार खोजी

शंकास्पद वित्तीय कारोबार तथा गतिविधिमा करिब ३० प्रतिशत बृद्धि

साझा अर्थ संवाददाता ३० पुष २०८२, बुधवार

काठमाडौँ । नेपालमा शंकास्पद वित्तीय कारोबार तथा गतिविधि अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाईले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन ले यस्तो तथ्य सार्वजनिक गरेको हो ।

प्रतिवेदनअनुसार सम्पत्ति शुद्धीकरण निवारण, आतङ्ककारी गतिविधिमा हुने वित्तीय लगानी रोकथाम तथा आमविनाशका हातहतियार निर्माणमा हुने वित्तीय लगानी नियन्त्रणका लागि गरिएका नीति तथा कार्यान्वयनका प्रयासहरू थप प्रभावकारी बनाइएका छन् ।

इकाईले सञ्चालन गर्दै आएको गोएमएल प्रणालीमार्फत प्राप्त वित्तीय सूचनामा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा १,६३९ सूचक संस्था आबद्ध रहेकामा चालु आर्थिक वर्षमा सो संख्या बढेर ३,४९७ पुगेको छ । सोही अवधिमा ९४५ वटा शंकास्पद कारोबार वा गतिविधिसम्बन्धी प्रतिवेदन प्राप्त भएको जनाइएको छ ।

प्राप्त प्रतिवेदनहरूको विश्लेषण अघिल्लो वर्षको तुलनामा करिब ४० प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । विश्लेषणपछि ४५ वटा वित्तीय जानकारी प्रतिवेदन नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायमा पठाइएको छ । यसबाट वित्तीय अपराधको पहिचान, अनुसन्धान तथा अभियोजन प्रक्रियामा प्रत्यक्ष सहयोग पुगेको प्रतिवेदनले जनाएको छ ।

अन्तर्राष्ट्रिय सहकार्यतर्फ पनि इकाई सक्रिय देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा विदेशी वित्तीय जानकारी इकाईहरूसँग ६४ वटा सूचना आदानप्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ । यसले सीमापार वित्तीय कारोबार, अन्तरदेशीय अपराध सञ्जाल तथा साइबर ठगीविरुद्धको सहकार्यलाई सुदृढ बनाएको जनाइएको छ ।

सन् २०२३ मा एसिया प्यासिफिक ग्रुपको मूल्याङ्कनपछि नेपाल ‘ग्रे–लिस्ट’ मा परेपछि गरिएका सुधार तथा समन्वयात्मक प्रयासहरू पनि प्रतिवेदनमा समेटिएका छन् ।

प्रतिवेदनले आगामी दिनमा जोखिममा आधारित दृष्टिकोण, प्रविधिमा आधारित विश्लेषण प्रणाली, अन्तरनिकाय समन्वय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधारलाई प्राथमिकता दिने उल्लेख गरेको छ । वित्तीय सूचना विश्लेषणको गुणस्तर सुदृढ गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ प्रभावकारी बनाउने लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

80 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ