पात्रो

रेडियो

समाचार खोजी

बेतन कर्णाली, तल्लो अरुण, अरुण–३ र पश्चिम सेती परियोजनामा नयाँ निर्णय

साझा अर्थ संवाददाता ४ मंसिर २०८२, बिहिवार

काठमाडौँ । लगानी बोर्डले चार प्रमुख जलविद्युत् परियोजनासम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ । लगानी बोर्डको बुधबारको बैठकले चार प्रमुख जलविद्युत् परियोजनासम्बन्धी महत्वपूर्ण निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले बेतन कर्णाली, तल्लो अरुण, अरुण–३ र पश्चिम सेती परियोजनाका लागि बेग्लाबेग्लै निर्णयहरू पारित गरेको हो ।
बैठकले ४३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त परियोजनाको अनुमानित लागत ९३ अर्ब ४० करोड ७६ लाख ३६ हजार ८८ रुपियाँ स्वीकृत गर्दै, परियोजना विकास सम्झौताका लागि वार्ता समिति गठन गर्ने निर्णय गरेको छ । यस परियोजना कर्मचारी सञ्चय कोषको पहलमा कर्मचारीहरूको लगानीसहित प्रवद्र्धन गरिनेछ ।
त्यस्तै, ६६९ मेगावाट तल्लो अरुण परियोजनाको उत्पादन अनुमतिपत्र मसौदा स्वीकृत गर्दै, अनुमतिपत्र जारी गर्न प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गरिएको छ ।
बैठकले ९०० मेगावाट अरुण–३ परियोजनाको प्रत्यक्ष सम्झौता मसौदा स्वीकृत गरी नेपाल सरकार, मन्त्रीपरिषद् समक्ष प्रस्ताव पेस गर्ने निर्णय पनि गरेको छ । साथै, ८०० मेगावाट पश्चिम सेती परियोजनाको सर्वेक्षण अनुमतिपत्र म्याद थप गर्ने निर्णय गरेको छ ।
परियोजना विकासकर्ता कम्पनी ब्लाजेपिक ग्लोबल ग्रुप लिमिटेड हङकङले प्रस्ताव गरेको अटो सर्भिस इको–इन्डस्ट्रियल पार्क परियोजना (अनुमानित लागत १६ अर्ब रुपियाँ) को विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि सर्वेक्षण अनुमतिपत्र प्रमुख कार्यकारी अधिकृतलाई प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले आर्थिक वर्ष २०८१÷८२ को प्रगति समीक्षा गर्दै २०८२÷८३ को वार्षिक कार्ययोजना स्वीकृत गरेको छ । सोसँगै आवश्यक सेवा र पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने र सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमाबली, २०७७ को संशोधन मसौदा मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय पनि गरिएको छ ।
बैठकमा अर्थमन्त्री तथा बोर्ड उपाध्यक्ष रामेश्वरप्रसाद खनाल, ऊर्जा मन्त्री कुलमान घिसिङ, उद्योग मन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेल र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।

105 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ