काठमाडौंं । आर्थिक वर्ष आर्थिक वर्ष २०८१/८२ मा कर्णाली प्रदेशमा वित्तीय सेवाका लागि बैंक तथा वित्तीय संस्थाका ४७५ शाखा रहेका छन् ।
नेपाल राष्ट बैंकले प्रकाशित गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) का अनुसार कर्णाली प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाका जम्मा शाखाहरुमध्ये वाणिज्य बैंक (क वर्ग) को २१३, विकास बैंक (ख वर्ग) को२१, वित्त कम्पनी (ग वर्ग) को ३ र लघु वित्त वित्तीय संस्था (घ वर्ग) को२३८ रहेका छन् ।
प्रतिवेदनका अनुसार सो प्रदेशमा १८ वटा शाखारहित बैकिङ्ग सेवा रहेका छन् । यस्तो सेवा प्रवाहमा सुर्खेत जिल्ला सबैभन्दा अगाडि रहेको छ । यस जिल्लामा आठ वटा शाखारहित बैकिङ्ग सेवा रहेको देखिन्छ ।
त्यसैगरी, हुम्ला, कालिकोट र दैलेखमा दुई/दुई वटा शाखारहित बैकिङ्ग सेवा रहेका छन् । त्यस्तै, मुगु, जाजरकोट, रुकुम पश्चिम र सल्यानमा एक/एक वटा शाखारहित बैकिङ्ग सेवा रहेका छन् । बाँकी दुई जिल्लाहरु डोल्पा र जुम्लामा भने यस्तो सेवा प्रवाह सुरु भएको छैन ।
यस्तै कर्णाली प्रदेशमा ११७ एटीएम सञ्चालनमा रहेका छन् । समीक्षा अवधिमा हुम्ला र मुगुमा दुई/दुई एटीएम रहेका छन् । सो कर्णाली प्रदेशमा मोबाईल बैकिङ्ग सेवामा रजिस्टर भएका जम्मा ग्राहकको संख्या नौ लाख चार हजार ४३१ पुगेको छ । जसमध्ये सबैभन्दा बढी सुर्खेतमा तीन लाख ५३ हजार दुई सय र सबैभन्दा कम मुगुमा १९ हजार ८९९ रहेका छन् ।
त्यसैगरी, इन्टरनेट बैकिङ्ग सेवामा रजिस्टर भएका जम्मा ग्राहकका संख्या १९ हजार ३७५ पुगेको छ । जसमध्ये, सबैभन्दा बढी सुर्खेतमा ११ हजार ३६२ र सबैभन्दा कम मुगुमा १४६ रहेका छन् ।
समीक्षा अवधिमामा कर्णाली प्रदेशमा डिजिटल भुक्तानी ग्राहकको संख्या १२ लाख ८५ हजार ३६ पुगेको छ । क्रेडिट कार्ड, डेबिड कार्ड, मोबाईल बैंकिङ्ग, अनलाईन बैंकिङ्ग, पिओएस, प्रिपेड कार्ड र क्युआर मर्चेन्टका कुल क्रमशः ४,३०८ संख्या, ३,३१,३३१ संख्या, ८,८२,७१९ संख्या, ३१,०८३ संख्या, २७५ संख्या, ७५४ संख्या र ३४,५६६ संख्या पुगेको छ ।
कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुलेसंकलन गरेको निक्षेप गत वर्षको तुलनामा २०.७१ प्रतिशतले बृद्धि भई ९१ अर्ब नौ करोड पुगेको छ ।
गत वर्षमा यस्तो निक्षेप ११.७९ प्रतिशतले बृद्धि भई ७५ अर्ब ४५ करोड ९१ लाख पुगेको थियो । समीक्षा वर्षमा यस प्रदेशमा प्रवाह भएको कुल कर्जा २.८० प्रतिशतले बृद्धि भई ६० अर्ब ८९ करोड ४२ लाख पुगेको छ । गत वर्षमा यस्तो कर्जा २.२३ प्रतिशतले बृद्धि भई ५९ अर्ब २३ करोड ४४ लाख पुगेको थियो ।