पात्रो

रेडियो

समाचार खोजी

लगानी र लगानीकर्ताको सुरक्षाको विषयमा शंका नगर्न स्वदेशी एवं विदेशी लगानीकर्ताहरुलाई आग्रह

साझा अर्थ संवाददाता १५ कार्तिक २०८२, शनिवार

काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले सरकारले नीतिगत सुधारका कामलाई उच्च प्राथमिकतामा राखेको र केही सुधारका कामहरु निजी क्षेत्रले अनुभव गर्नेगरी भइसकेको बताउनुभएको छ ।
जेनजी आन्दोलन र सो क्रममा भएको जनधनको क्षतिले निजी क्षेत्रमा परेको असर, लगानीकर्ताले गरेको अनुभव एवं विद्यमान अवस्थाबाट अगाडि बढ्न गरिनुपर्ने पहलका सम्बन्धमा शुक्रबार आयोजना गरिएको सार्वजनिक निजी संवादलाई सम्बोधन गर्दै उहाँले लगानी र लगानीकर्ताको सुरक्षाको विषयमा शंका नगर्न स्वदेशी एवं विदेशी लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो ।
लगानी बोर्डको कार्यालय र नेपाल उद्योग परिसंघको संयुक्त रुपमा  आयोजना गरिएको संवादमा गृह मन्त्री ओम प्रकाश अर्यालले निजी क्षेत्रले राखेको सुरक्षा प्रत्याभूतीको विषयलाई गृह मन्त्रालयले गम्भिर रुपमा लिएको बताउनुभयो । उहाँले मुलुकमा सुशासन कायम गर्न अपरिहार्य रहेको बताउनुहुँदै सुशासनका सम्बन्धमा सरकारसँगै निजी क्षेत्रमा पनि सुधार आवश्यक रहेको बताउनुभयो ।
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री अनिल सिन्हाले कुनै पनि निकायमा रोकिएका काम सम्पन्न गर्न तीब्र गतिमा काम गरिरहेको बताउनुभयो । कानुन नै सुधार गर्नुपर्ने बाहेकका प्रक्रियागत सुधारलाई उच्च प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।
नेपाल राष्ट्र बैकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैङ्क तथा वित्तीय संस्थामा पर्याप्त लगानी योग्य रकम रहेको हुँदा लगानीका लागि राम्रो अवसर रहेको बताउनुभयो । उहाँले लगानीका लागि आग्रह गर्दै विशेषगरी पूर्वाधार क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उद्योगी व्यवसायीहरुलाई अत्यन्त दुखित एवं चिन्तित बनाएको बताउनुभयो ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कार्यक्रमको महत्वबारे जानकारी गराउनुहुँदै परियोजनाका लगानीकर्ता तथा विकासकर्ताहरूका लागि सहज व्यवसायिक वातावरण निर्माण गर्न लगानी बोर्डको कार्यालय सक्रिय र विवेकपूर्ण ढङ्गले कार्यरत रहेको तथा उक्त प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले हालैको जेनजी आन्दोलनले लगानीकर्ताहरूको मनोबलमा पारेको प्रभावप्रति लगानी बोर्ड र समग्र राज्य संयन्त्र पूर्ण रूपमा सचेत रहेको उल्लेख गर्दै, सो चुनौतीलाई अवसरको रूपमा रूपान्तरण गर्न निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा अर्थ मन्त्रालयको तर्फबाट सहसचिव उत्तरकुमार खत्रीले नयाँ सरकार बनेपछि लगानीकर्ताका लागि लिएको नीति एवं सरकारले गर्न लागेको सुधारका विषयमा र नेपाल उद्योग परिसंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरीले  अर्थतन्त्रका चुनौती, अवसरसँगै सरकारले निजी क्षेत्रलाई कसरी प्रोसाहन गर्न सक्छ भन्ने विषयमा प्रस्तुतीकरण गर्नुभयो ।

99 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ