काठमाडौंः नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले रुग्ण ठेक्काहरूको व्यवस्थापनमा सकरात्मक भूमिका देखाएको बताउनु भएको छ । अर्थमन्त्री रामेश्वर खनालसँग भएको भेटपछि विहिवार उहाँ उक्त कुरा बताउनु भएको हो ।
हाल विभिन्न मन्त्रालय र निकायहरूले ठेक्का अन्त्य गर्ने सूचना जारी गरिरहेको र यसले देशको आर्थिक क्षेत्रलाई गम्भीर रूपमा प्रभावित गर्ने बताउँदै उहाँले तत्काल यसको समाधान आवश्यक रहेको बताउनु भयो ।
महासंघले सार्वजनिक खरिद ऐनको दफा ५९ (८) अन्तर्गत ठेक्का अन्त्य गर्ने प्रावधानलाई निलम्बन वा खारेज गर्नुपर्ने माग गरेको छ । यसका साथै रुग्ण आयोजनाहरूमा काम गर्न नसक्नुको पछि राष्ट्र बैंकको ऐन, कालोसूची र खाता सञ्चालनजस्ता अवरोधहरू रहेको सिंहको भनाई रहेको छ ।
अर्थमन्त्री खनालले यी समस्याहरूलाई गम्भीरतापूर्वक लिँदै सरोकारवालाहरूसँग छलफल पश्चात विवेकपूर्ण निर्णय गर्ने, बैंकिङ प्रणालीमा पर्न सक्ने असरबाट जोगाउने र राष्ट्र बैंकसंग समन्वय गरेर समस्या समाधान गर्ने आश्वासन दिनुभएको उहाँले जानकारी दिनुभयो ।