काठमाडौं — नेपालको पूँजी बजार सुदृढीकरण, विस्तार तथा स्तरोन्नतिको उद्देश्यसहित ‘हिँड काठमाडौं’ संघर्ष अभियानले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष २८ बुँदे मागपत्र सार्वजनिक गरेको छ । अभियानका संयोजक दिपेन्द्र अग्रवालले सेबोन र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नीतिगत कमजोरी, ढिलासुस्ती र लगानीकर्तामाथिको अन्यायका विरुद्ध आवाज उठाउँदै तत्काल सुधारका माग गर्नुभएको छ ।
अभियानले सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले विगतका संघर्षका मर्मअनुसार पूँजी बजार सुधारका नीति कार्यान्वयन गर्न असमर्थ भए राजीनामा दिनुपर्ने माग गरेको छ । साथै, एनआरएन (गैरआवासीय नेपाली) लाई नेपालको दोस्रो बजारमा फ्री इन्ट्री र फ्री एक्जिटको व्यवस्था, ब्रोकर कमिशनमा ५० प्रतिशत कटौती, पूँजीगत लाभकर घटाउने, बजार समय बेलुकी ५ बजेदेखि ९ बजेसम्म सार्ने, ब्रोकरको संख्या बढाउने, अनलाइन केवाइसी र रियल टाइम सेटलमेण्ट प्रणाली लागू गर्नुपर्ने जस्ता मागहरू प्रस्तुत गरिएको छ ।
मागपत्रमा सेयर बाइब्याकको व्यवस्था, आईपीओ स्वीकृतिमा पारदर्शिता, भ्रष्टाचार अन्त्य, सेबोन र नेप्सेको सञ्चालक समितिमा लगानीकर्ताको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने, इन्ट्रा डे ट्रेडिङ र डेरिभेटिभ मार्केट तत्काल सुरु गर्नुपर्ने लगायतका माग पनि समावेश छन् ।
संयोजक अग्रवालका अनुसार, पूँजी बजारमा पारदर्शिता, स्थायित्व र लगानीकर्ताको विश्वास पुनःस्थापना गर्न यी सुधारात्मक कदमहरू अत्यावश्यक छन् । उहाँले भन्नुभयो, “यदि मागहरू कार्यान्वयन भएनन् भने, लगानीकर्ताहरू सडकमा उत्रिन बाध्य हुनेछन् ।”
