पात्रो

रेडियो

समाचार खोजी

'२५ देखि ३० लाख लगानीमा नै इथानोल प्लान्ट निर्माण गर्न सकिन्छ'

साझा अर्थ संवाददाता २४ भदौ २०८१, सोमवार

२५ देखि ३० लाख रुपैयाँ लगानीमा नै इथानोल उत्पादनको प्लान्ट निर्माण गर्न सकिने  नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले बताएका छन् । सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढिसकेको बताउदै उनले इथानोल उत्पादनमा धेरै उद्योग तयार रहेको पनि बताए । 

पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि ०६० सालमा नै योजना बने पनि विविध कारणले विलम्ब हुन गएकोमा पछिल्लो समय सरकारले यो कार्यान्वयनमा लैजाने पहल गरिसकेको उनले बताए।

इथानोल उत्पादन र प्रयोगको सन्दर्भमा प्रस्तावसँगै कार्यविधि बनाउनुपर्ने रहेकोमा उद्योग विभागले सोसम्बन्धी कार्यविधिका लागि स्वीकृति दिइसकेको उनले बताए।

‘अब केही समयमा नै इथानोल उत्पादनमा जान्छ। यो कुनै रकेट साइन्स होइन,’ उनले भने, ‘इथानोलको प्रयोगले दैनिक चार लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्छ ।’

इथानोल उत्पादनमा धेरै उद्योग तयार रहेकोमा २५ देखि ३० लाख रुपैयाँ लगानीमा नै इथानोल उत्पादनको प्लान्ट निर्माण गर्न सकिने उनले भने । तर, वार्षिक उत्पादन परिमाण, खपत र मूल्यमा भने ख्याल गर्नुपर्ने उनको भनाइ छ।

सन् २०२० मा नै पेट्रोलियम पदार्थको खपत हराएर जाने भनिए पनि अझै ठुलो माग रहेको उल्लेख गर्दै भट्टले यो अझै अगाडि जाने र पेट्रोलियम पदार्थको खपत कम गर्न इथानोल प्रयोगमा जोड दिनुपर्ने बताए।

अझ नेपालजस्तो पेट्रोलियम पदार्थको उत्पादन नहुने देशले त इथानोलको उत्पादन र मिश्रणमा जोड दिनुपर्ने उनले धारणा राखे। ‘राज्यले नीति बनाइसकेको छ, इथानोल मिश्रणको निर्णय गरिसकेको छ, हामी उत्पादनमा जान्छौंँ,’ उनले भने।

136 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता