पात्रो

रेडियो

समाचार खोजी

नेपाललाई जर्मनीको ३ करोड ७६ लाख युरो सहयोग घोषणा

साझा अर्थ संवाददाता ३ असार २०८३, बुधवार
समाचार सारांश
  • जर्मनीले नेपाललाई आगामी दुई वर्षका लागि ३ करोड ७६ लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
  • यो सहयोग ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्यलगायत प्रमुख क्षेत्रमा केन्द्रित हुनेछ, जसले दुई देशबीचको विकास साझेदारीलाई थप सुदृढ पार्नेछ।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ : जर्मनीले आगामी दुई वर्षका लागि नेपाललाई ३ करोड ७६ लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी अन्तरसरकारी वार्ताका क्रममा जर्मनीले यस्तो घोषणा गरेको हो। काठमाडौंस्थित जर्मन दूतावासका अनुसार आगामी सहकार्यमा ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिनेछ।

वार्तामा नेपालको तर्फबाट अर्थ मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्माले नेतृत्व गरेका थिए। जर्मनीको तर्फबाट जर्मन संघीय आर्थिक सहकार्य तथा विकास मन्त्रालयअन्तर्गत दक्षिण एसिया महाशाखाकी प्रमुख बार्बरा सेफरले नेतृत्व गरेकी थिइन्।

घोषित सहायता नवीकरणीय ऊर्जा प्रवर्द्धन, ऊर्जा दक्षता वृद्धि, विद्युत् वितरण प्रणाली सुदृढीकरण, हरित तथा उत्थानशील कृषि विकास, राजस्व क्षेत्र सुधार, गुणस्तरीय पूर्वाधार, लैङ्गिक समानता र वित्तीय पहुँच विस्तारमा केन्द्रित हुने बताइएको छ।

नेपालका लागि जर्मनीको सहयोग ऊर्जा र पूर्वाधारमा मात्रै सीमित नभई आर्थिक सुधार, कृषि, स्वास्थ्य र सामाजिक समावेशीकरणसँग पनि जोडिएको छ। यसले नेपालको विकास प्राथमिकतासँग मेल खाने क्षेत्रमा दीर्घकालीन सहकार्यलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

जर्मनी लामो समयदेखि नेपालको विकास साझेदारका रूपमा सक्रिय रहँदै आएको छ। पछिल्लो प्रतिबद्धताले नेपाल–जर्मनीबीचको द्विपक्षीय विकास साझेदारीलाई थप मजबुत बनाउने दूतावासले जनाएको छ।

39 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु