पात्रो

रेडियो

समाचार खोजी

२२ अर्ब बढीको क्षति: बीमा दाबीको नयाँ रेकर्ड

बीमा दाबी र भुक्तानी परीक्षणमा नेपाली बीमा कम्पनीहरू

साझा अर्थ संवाददाता ७ असोज २०८२, मङ्गलवार
समाचार सारांश

सबैभन्दा बढी दाबी सम्पत्ति बिमा अन्तर्गत परेको छ, जसमा १८ अर्ब ६१ करोड रुपैयाँको दाबी आएको छ। मोटर बिमा अन्तर्गत पनि २ अर्ब ९५ करोड रुपैयाँ बराबरको दाबी परेको छ। बागमती प्रदेशमा मात्र १७ अर्ब ९७ करोड रुपैयाँ बराबरको दाबी दर्ता भएको छ, जुन सबैभन्दा बढी हो।

बीमा कम्पनीहरूमध्ये दी ओरियन्टल इन्स्योरेन्समा सबैभन्दा बढी रकमको दाबी (५ अर्ब २२ करोड) परेको छ भने शिखर इन्स्योरेन्समा संख्या अनुसार सबैभन्दा धेरै दाबी (३७४ वटा) दर्ता भएका छन्।

प्राधिकरणले बीमा कम्पनीहरूलाई दाबीको प्रक्रिया छिटो टुंग्याउन निर्देशन दिएको छ। बीमा विज्ञहरूका अनुसार यो अवस्था नेपाली बीमा क्षेत्रको लागि टर्निङ प्वाइन्ट हुन सक्छ।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ । ‘जेनजी आन्दोलन’का क्रममा देशभर भएका तोडफोड, आगजनी र लुटपाटका कारण नेपालमा बिमा इतिहासकै सबैभन्दा ठूलो दाबी परेको छ। भदौ २३ र २४ मा भएको व्यापक क्षतिका आधारमा हालसम्म २२ अर्ब रुपैयाँभन्दा बढीको दाबी दर्ता भइसकेको छ, जसले बिमा क्षेत्रलाई गम्भीर परीक्षा मात्रै होइन, सम्भावनाको मोडमा पनि पुर्‍याएको छ।

आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिहरूले बीमा क्षेत्रको इतिहासमै ठूलो दाबी परेको छ । राजधानी काठमाडौंसँगै नेपालका विभिन्न क्षेत्रमा भदौ २३ गतेदेखि भएको जेन–जेजी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको तोडफोड र आगजनीबाट उत्पन्न क्षतिको बीमा दाबी इतिहासकै सर्वाधिक भएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म दुई हजार ४७८ वटा बीमा दाबी दर्ता भई जम्मा २२ अर्ब २५ करोड ६५ लाख रुपियाँ बराबरको दाबी आएको छ । जुन अझै बढ्ने क्रम जारी छ ।
अहिले बीमा कम्पनीमा परेको दाबी महाभूकम्पमा परेको भन्दा पनि बढी हो । २०७२ साल वैशाख १२ गते गएको विनासकारी भूकम्पका कारण विभिन्न बीमा कम्पनीहरुमा १७ अर्ब ६५ करोड रुपियाँ बराबरको बीमा दाबी परेको थियो । त्यसबेला भूकम्पसँग सम्बन्धित साढे १७ हजार दाबी परेका थिए ।
अहिलेको बीमा दाबी अझै बढ्ने बताउँदै प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी बीमा दाबी यत्ति नै बढ्ने प्रक्षेपण गर्न नसकिए पनि बीमा दाबी आउने क्रम जारी रहेको बताउनुभयो ।
आन्दोलनकारीहरुले सरकारी निकायका धेरै पूर्वाधार र निजी क्षेत्रका धेरै व्यापारीक संरचना, होटल, शोरूम, सुपरमार्केट, सञ्चार गृह, उद्योग गोदामदेखि निजी सवारी, निजी प्रयोजनका निवासलगायतलाई ध्वस्त बनाएका थिए । सञ्चालनमा रहेका १४ वटा निर्जीवन कम्पनी र चार वटा निर्जीवन माइक्रो इन्स्योरेन्स कम्पनीमा क्षतिको बीमा दाबी परेको छ ।
सर्वाधिक दाबी ओरियण्टलमा
कम्पनीहरुमध्ये बीमा दाबी पर्नेमा दि ओरियण्टल इन्स्योरेन्स अगाडि रहेको छ । ओरियण्टलमा देशभरबाट ७३ वटा दाबीको पाँच अर्ब २२ करोड ९८ लाख रुपियाँको दाबी परेको छ । जुन संख्याको आधारमा अरु कम्पनीको भन्दा कम भएपनि रकमका आधारमा बढी हो ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा देशभरबाट २७९ वटा दाबीको लागि पाँच अर्ब आठ करोड २८ लाख रुपियाँ बराबरको बीमा दाबी परेको छ । यस्तै  आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा १७० वटा दाबीको लागि दुई अर्ब ७६ करोड ८४ लाख रुपियाँ बराबरको बीमा दाबी परेको छ ।
सर्वाधिक संख्या शिखरमा
बीमा दाबीको संख्यात्मक आधारमा हेर्दा शिखर इन्स्योरेन्स अगाडि देखिएको छ । शिखरमा ३७४ वटा दाबीको लागि दुई अर्ब ३९ करोड ३३ लाख रुपियाँ बराबरको दाबी परेको छ ।
प्राधिकरणको तथ्याङ्क अनुसार जेन–जेड आन्दोलनबाट सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २५७ वटा दाबीको एक अर्ब ५४ करोड ५६ लाख रुपियाँ बराबरको बीमा दाबी परेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ वटा दाबीको एक अर्ब १५ करोड ६२ लाख रुपियाँ बराबरको बीमा दाबी परेको छ ।
त्यसैगरी नेको इन्स्योरेन्समा २११ वटा दाबीको एक अर्ब ११ करोड ८३ लाख रुपियाँ बराबरको बीमा दाबी परेको छ ।
यस्तै सानिमा जिआइसी इन्स्योरेन्समा १४२ वटा दाबीको ८१ करोड सात लाख रुपियाँ, युनाइटेड अजोड इन्स्योरेन्समा १८९ वटा दाबीको ५१ करोड ३४ लाख रुपियाँ, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा ८३ वटा दाबीको ४७ करोड नौ लाख रुपियाँ, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १७४ वटा दाबीको ४५ करोड ७२ लाख रुपियाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा १६४ वटा दाबीको ४० करोड ९९ लाख रुपियाँ, प्रभु इन्स्योरेन्स लिमिटेडमा १०२ वटा दाबीको २० करोड ३६ लाख रुपियाँ, नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडको २० वटा दाबीको छ करोड ८४ लाख रुपियाँ बराबरको बीमा दाबी परेको छ ।
माइक्रो इन्स्योरेन्समा तीन करोड नजिक
सञ्चालनमा रहेका चारवटा माइक्रो इन्स्योरेन्स कम्पनीमा ४४ वटा दाबीको कुल दुई करोड ७० लाख रुपियाँ बराबरको बीमा दाबी परेको छ । सर्वाधिक प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको नौ वटा दाबीको एक करोड १३ लाख रुपियाँ बराबरको बीमा दाबी परेको छ । यस्तै स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको नौ वटा दाबीको ७२ लाख रुपियाँ, ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड नौ वटा दाबीको ४४ लाख रुपियाँ, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड १७ वटा दाबीको ४१ लाख रुपियाँ बराबरको बीमा दाबी परेको छ ।
सम्पत्ति बीमामा सर्वाधिक दाबी
बीमालेख अनुसार हेर्दा सम्पत्ति बीमामा सर्वाधिक ५३८ वटा दाबीको १८ अर्ब ६१ करोड आठ लाख रुपियाँ बराबरको बीमा दाबी परेको छ । यस्तै मोटर बीमामा १७ सय ७८ वटा दाबीको दुई अर्ब ९५ करोड २६ लाख रुपियाँ, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा १३२ वटा दाबीको ३३ करोड ३६ लाख रुपियाँ, परिवहन बीमामा ११ वटा दाबीको एक करोड ५५ लाख रुपियाँ र अन्य बीमामा १९ वटा दाबीको ३४ करोड ३८ लाख रुपियाँ  बराबरको बीमा दाबी परेको छ ।
सर्वाधिक दाबी बागमतीमा
कम्पनीहरुमा परेको बीमा दाबीको ट्रेण्डलाई प्रदेशगत आधारमा हेर्दा बागमती प्रदेशमा सर्वाधिक दाबी परेको छ । बागमतीमा एक हजार ३४३ दाबीको कुल १७ अर्ब ९७ करोड ७२ लाख रुपियाँ बराबरको बीमा दाबी परेको छ । बागमतीलाई पछ्याउँदै कोशी प्रदेशमा ३२२ दाबीको एक अर्ब ६५ करोड तीन लाख रुपियाँ बराबरको बीमा दाबी परेको छ ।

95 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ