वृद्धहरुले धानेको गोठ
म्याग्दीः बाजेका पालादेखि भेडा पाल्दै आउनुभएका बागलुङको तमानखोला गाउँपालिका-५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको सङ्ख्या घटाउँदै जानु भएको छ ।
पूर्वीरुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन सिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा गत साउन अन्तिम साता भेटिनुभएका विकले ३२ वर्र्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना सुनाउनुभयो ।
“पहिले एक सय भेडाबाख्रासँगै आठ/दश वटा गाईभैँसीको गोठ लिएर बुकी र बेँसी गर्दथे । गाईभैँसी बेचेर सकिए । अहिले ४० वटा भेडाबाख्रा छन”, विकले भन्नुभयो, “छोराछोरीले यो पेसा नरोजी विदेशतिर लागे । बढ्दो बुढ्यौलीसँगै हिँड्डुल गर्न गाह्रो हुन थालेकाले म पनि भएका भेडाबाख्रा बेचेर विश्राम लिने योजनामा छु ।”
ढोरपाटनका ७४ वर्षीय लक्षुमन थापाले पनि भएका भैँसी छोराछोरीलाई दिएर आउँदो वर्षदेखि बुकी नउक्लने तयारी गर्नुभएको छ । “छोराछोरी विदेश र सहर पसेपछि हामी बूढाबूढीले घर कुर्नेकी गोठ कुर्ने भएको छ”, उहाँले भन्नुभयो, “घुम्ती गोठमा गाईभैँसी पाल्ने चलन हाम्रो पुस्तासँगै हराउने भयो ।”
करिब २० वर्षअघि बर्खामा गाईभैँसी, भेडाबाख्रा र घोडाले भरिने गर्पाछेडा, दहखर्क, टीकाधुरीलगायत ढोरपाटनका बुकीका खर्कहरु अहिले रित्ता हुँदै गएका थापाले बताउनुभयो । खुङखानीका रनबहादुर र ढोरपाटनका लछुमन जस्तै ६० वर्षीय वृद्धहरुले धानेको घुम्ती गोठहरु उनीहरुको बढ्दो उमेरसँगै घट्दै गएका छन् । युवा र वयस्क उमेरका गोठाला भेटिँदैनन् ।
वैदेशिक रोजगारीप्रतिको आकर्षण, स्वदेशमा मेहनत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जीविकोपार्जनसँगै आम्दानीको प्रशस्त स्रोत घुम्ती पशुपालन पेसा सङ्कटमा परेको ढोरपाटनको छेन्तुङमा बस्दै आउनुभएका धवलागिरि गाउँपालिका-७ ताकमका पूर्वप्रधानपञ्च विष्णुबहादुर थापाले बताउनुभयो । ८३ वर्षीय थापाका अनुसार धारापानी, ताकम, मुना, मुदी, लुलाङबाट केही वर्षयता बर्खामा बुकीमा गोठ लैजान छाडेका छन् ।
गर्मी बढेपछि हिमाली क्षेत्रको जडीबुटीयुक्त चरन क्षेत्रको पोषिलो घाँस खुवाउन बुकीमा पशु चराउन लैजाने चलन थियो । बुकीमा चरेका पशुहरु निरोगी, मोटा हुने, दूध धेरै दिने र मासु स्वादिष्ट हुने थापाले बताउनुभयो ।
असारदेखि भदौसम्म लेकाली क्षेत्रमा रहने पशु गोठहरु चिसोसँगै बेँसीतर्फ झार्ने चलन छ । अस्थायी टहरामा महिनौँसम्म घरपरिवारसँग सम्पर्कविहीन भएर पशुहरुसँगै बुकीमा बस्न नयाँ पुस्ताले दुःख र झञ्झट मान्न थालेका वृद्धहरुको भनाइ छ । पाँच वर्ष साउदीमा काम गरेर फर्किएर पुख्र्यौंली गोठाला पेसालाई निरन्तरता दिएका ढोरपाटनका शक्तिबहादुर कायतले जहाँ गए पनि दुःख नगरी आम्दानी नहुने भएकाले विदेशभन्दा गोठनै राम्रो भएको अनुभव सुनाउनुभयो ।
“दुःख यहाँभन्दा विदेशमा धेरै हुन्छ”, उहाँले भन्नुभयो, “मलाई खाडीको तुलनामा बुकीमा भैँसी पाल्दा सजिलो लागेको छ ।” २१ वटा भैँसी पाल्नुभएका शक्तिबहादुरले घ्यु, राँगाभैँसी, छुर्पी बेचेर छ जना छोराछोरी पढाउने र घरखर्च चलाउने गरेको बताउनुभयो । रासस
साझा अर्थ संवाददाता
७ भदौ २०८१, शुक्रवार
118
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
कर्णाली विकास बैंक समस्याग्रस्त घोषित
-
व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
-
कजाकिस्तानमा ६७ यात्रुसहित उडेको विमान दुर्घटनाग्रस्त, २५ जना जीवितै उद्धार
-
एनसीएचएलको १६ औं वार्षिकोत्सव सम्पन्न
-
पाँच महिनामा सवा तीन लाख बैदेशिक रोजगारीमा, मंसिरमा मात्रै ८४ हजारले लिए श्रम स्वीकृति
-
ग्लोबल आइएमई बैंकद्वारा हाटबजार सञ्चालन