sajhaartha.com २७ पुष २०८१, शनिवार
२७ पुष २०८१, शनिवार
11th, January 2025, Saturday
ताजा खबर

टाउको दुखाईको विषय बन्दै सानादरका नोट ब्यवस्थापन

२७ पुष २०८१, शनिवार नवराज शिवाकोटी
103
Shares

दोलखाः दोलखाका बैंक तथा सहकारीहरुलाई साना दरका नोट ब्यवस्थापन टाउको दुखाईको विषय बन्न पुगेको छ । बैंक, तथा सहकारीहरुमा साना दरका नोट थुप्रदैजाँदा .राख्ने ठाउँसमेत नभई उनीहरुलाई नोट ब्यवस्थापन टाउको दुखाईको विषय बन्न पुगेको हो । 
अहिले साना नोटहरुलेनै भल्ट भरिने अवस्था आएकोले ठूलो परिमाणमा बैंक हरुले साना दरका नोटहरु लिन सक्ने अवस्था नरहेको सदरमुकाम चरिकोटमा कार्यरत बैंकहरुले बताएका छन् । सर्वसाधारणहरुले ल्याएका सानादरका नोट आफू कार्यरत बैंकको शाखाले स्वीकार गरिरहेको भएता पनि ठूलो परिमाणमा आउने सानादरका नोट भने राख्ने ठाउँको अभावले स्वीकार गर्न समस्या भएको नेपाल बैंक लिमिटेड चरिकोट शाखाका प्रमुख अमृत अधिकारीले बताउनु भयो ।  यस्तै गुनासो प्रभु बैंक चरिकोट शाखाका प्रमुख ईश्वर कार्कीको पनि रहेको छ । दोलखा भीमेश्वरमा जम्मा हुने भेटी प्रभु बैंक चरिकोट शाखामानैं जम्मा गर्ने गरिएको छ । साना दरका नोट भेटीको रुपमा बै.कमा जम्मा हुन आउने भएकोले नोटको संख्या धेरै परिमाणमा जम्मा हुने भएकोले केही समय होल्ड गर्न आफूले भनेको उहाँले बताउनु भयो ।  “केन्द्रलाई साना दरका नोट लैजान आग्रह गरेको छु” उहाँले भन्नु भयो “ केन्द्रले साना दरका नोट लगेमा बैकले सेवाग्राहीबाट आउने साना दरका नोट स्वीकार गर्न सहज हुने थियो । ”
कुमारी बैंक चरिकोट शाखाका प्रमुख सुरेन्द्र गौतम पनि अत्यधिक मात्रामा साना दरका नोट जम्मा हुनाले भल्टनैं भरिने अवस्था आएको बताउनु हुन्छ । 
तीनवटा बैंकका शाखा त उदाहरण मात्रै हुन् । अहिले दोलखामा कार्यरत सबै बैकका शाखाहरुको अवस्था उस्तै  छ । पहिले बैंकमा सानादरका नोटको माग गर्दा नपाइने अवस्था भएकोमा अहिले ग्राहकहरुलाई सानादरका नोट लगिदिन बैंकका कर्मचारीहरुले अनुरोध गर्ने गरेको नेपाल बैंक लिमिटेड चरिकोट शाखामा पैशा निकाल्न आएका रामकुमार थामीले बताउनु भयो । 
साना दरका नोट ब्यवस्थापनमा अहिले सबै भन्दा बढी समस्या सहकारीहरुलाई परेको छ । सर्वसाधारणले बचत गर्न साना दरका नोट नैं ल्याउने गरेका छन् । ति नोट स्वीकार गर्नुको विकल्प सहकारीहरुसँग छैन । सहकारीहरुले सहकारी बैंक तथा यस्तै प्रकृतिका बैंकमा खाता खोली रकम जम्मा गर्ने गर्दछन् । 
“सहकारी बैंकमा एक करोड बढीका साना दरका नोट रहेका छन् । ” राष्ट्रिय सहकारी बैंक दोलखाकी प्रमुख यसोदा पौडेलले भन्नुभयो “ बैंकमा राख्न लग्यो हजार र पाँच सयका भन्दा लिँदैनन् ।  भल्ट भरियो अब के गर्ने भन्ने समस्या भएको छ । ”
विभिन्न सहकारीबाट ऋण लिनेहरुलाई सकेसम्म साना नोट लैजान आग्रह गरेतापनि साना दरका नोट लिन खासै रुची कसैले पनि गर्ने नगरेको पौडेलको भनाई छ । साना नोट ग्राहकलाई दिएपनि बैकले जम्मा गर्न आनाकानी गरेपछि फिर्ता लिएर सहकारी बैंकमैं आउने गरेको उहाँको गुनासो छ । 
बैंकले साना नोट स्वीकार नगरेका कारण पछि खुद्रा काम लाग्छ भनेर आफैले जोखिम मोलेरै भएपनि सानादरका नोट घरमैं राख्ने गरेको सदरमुकाम चरिकोटका ब्यापारीहरु बताउँछन् । 
बैंकले पैशा नस्वीकार्ने भन्ने शब्द सुन्दानैं अचम्म लाग्दो भएको तथा यसबाट बै.ङ्कीङ प्रणाली प्रतिनै नागरिकको विश्वास कमहुने खतरा रहेको सेवा ग्राहीहरुको भनाई रहेको छ  । साना नोटको ब्यवस्थापनकालागि बैंकहरुका केन्द्रीय यतहले पहल गर्नु पर्ने वा राष्ट्रबैकले उचित निर्णय गर्नु पर्ने उहाँहरुको सुझाव  रहेको छ । 
सानादरका नोटको ब्यवस्थापन कसरी गर्ने भन्ने सन्दर्भका लगातार दुई दिनसम्मको प्रयास पछि सम्पर्कमा आउनु भएका नेपाल राष्ट्रबै.कका सूचना अधिकारी डाक्टर डिल्लीराम पोखरेलले यो समस्याको बारेमा नेपाल राष्ट्र  बैंकको सम्बन्धीत विभागका जिम्मेवार अधिकारीसँग सम्पर्क गराई दिने आश्वासन दिनुभयो । तर शुक्रवारसम्म पनि सम्पर्क गराउने काम उहाँबाट भएन । 
नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएका नोट बैंकहरुले नैं जिम्मा नलिने परिस्थिति आउँदा पनि यसतर्फ कसैले चासो नदिँदा सर्वसाधारण मर्कामा परेका छन् भने बैंकका शाखा प्रमुखहरुलाई समेतको साना दरका नोट ब्यवस्थापन टाउको दुःखाईको विषय बन्न पुगेको छ । यसतर्फ बैंकहरुका केन्द्रीय तहका जिम्मेवार अधिकारीहरु तथा नेपाल राष्ट्रबैंक जिम्मेवार हुनु पर्ने सेवाग्राहीहरुको माग रहेको छ ।

नवराज शिवाकोटी
२७ पुष २०८१, शनिवार

103

Shares