पात्रो

रेडियो

समाचार खोजी

कर्णाली प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाहरुले संकलन गरे ७५ अर्ब ४५ करोड बढी निक्षेप

सुर्खेत अगाडि, डोल्पा जिल्लामा सबैभन्दा कम

साझा अर्थ संवाददाता १७ पुष २०८१, बुधवार

काठमाडौं । कर्णाली प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेप ७५ अर्ब ४५ करोड ९१ लाख रुपियाँ पुगेको छ ।
नेपाल राष्ट्र बैङ्क सुर्खेत कार्यालयले तयार गरेको आर्थिक वर्ष २०८०/८१ मा आधारीत प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनका अनुसार कर्णाली प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेप, अघिल्लो वर्षको तुलनामा ११.७९ प्रतिशतले बृद्धि भई ७५ अर्ब ४५ करोड ९१ लाख रुपियाँ पुगेको हो । अघिल्लो वर्ष यस्तो निक्षेप ११.८९ प्रतिशतले बृद्धि भई ६७ अर्ब ४९ करोड ९२ लाख रुपियाँ पुगेको थियो ।
कर्जा ५९ अर्ब २३ करोड ४४ लाख रुपियाँ
समीक्षा वर्षमा कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जा २.२४ प्रतिशतले बृद्धि भई ५९ अर्ब २३ करोड ४४ लाख रुपियाँ पुगेको छ । गत वर्षमा यस्तो कर्जा ५.४७ प्रतिशतले बढेर ५७ अर्ब ९३ करोड ६७ लाख पुगेको थियो । त्यस्तै, समीक्षा वर्षमा कर्णाली प्रदेशको कर्जा तथा निक्षेप अनुपात ७८.५० प्रतिशत रहेको छ । उक्त अनुपात गत वर्षमा ८५.८३ प्रतिशत रहेको थियो ।
बैङ्क तथा वित्तीय संस्थाका ४७५ शाखा
समीक्षा वर्षमा सो प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाका ४७५ शाखा रहेका छन् । अघिल्लो वर्ष सो प्रदेशमा जम्मा ४६६ वटा शाखा रहेका थिए । समीक्षा वर्षमा नौ वटा शाखा विस्तार भई शाखा संख्या जम्मा ४७५ पुगेकोमा वाणिज्य बैंक (क वर्ग) का २१३ वटा, विकास बैंक (ख वर्ग) का २१ वटा, वित्त कम्पनी (ग वर्ग) का तीन वटा र लघु वित्त वित्तीय संस्था (घ वर्ग) का २३८ वटा रहेका छन् ।
कर्णाली प्रदेशमा शाखारहित बैङकिङ, ए.टि.एम., मोबाइल तथा इन्टरनेट बैङकिङ समीक्षा वर्षमा कर्णाली प्रदेशमा २८ वटा शाखारहित बैङकिङ सेवा रहेका छन् । यस्तो सेवा प्रवाहमा सुर्खेत जिल्ला सबैभन्दा अगाडि रहेको छ । जहाँ ११ वटा शाखारहित बैङकिङ सेवा रहेको देखिन्छ जसमध्ये दैलेखमा ती वटा, सल्यानमा र कालिकोटमा ४/४ वटा शाखारहित बैङकिङ सेवा रहेका छन् ।
त्यस्तै, हुम्ला र मुगुमा २/२ वटा तथा रुकुम पश्चिम र जाजरकोटमा १÷१ वटा शाखारहित बैङकिङ  सेवा रहेका छन् । बाँकी दुई जिल्लाहरु डोल्पा र जुम्लामा भने यस्तो सेवा प्रवाह सुरु नै भएको छैन ।
११३ वटा ए.टी.एम
समीक्षा वर्षमा कर्णाली प्रदेशमा ११३ वटा ए.टी.एम सञ्चालनमा रहेका छन् । समीक्षा वर्षमा हुम्ला र मुगुमा २÷२ वटा ए.टी.एम. रहेका छन् । समीक्षा वर्षसम्म कर्णाली प्रदेशमा मोबाइल बैङकिङ रजिस्टर गर्ने ग्राहकको संख्या सात लाख ९२ हजार ४३१ पुगेको छ । जसमध्ये सबैभन्दा बढी सुर्खेतमा तीन लाख ११ हजार ८१७ र सबैभन्दा कम डोल्पा जिल्लामा १८ हजार ३६ रहेका छन् ।
इन्टरनेट बैङकिङ रजिस्टर गर्ने २० हजार
इन्टरनेट बैङकिङ रजिस्टर गर्ने ग्राहकको संख्या २० हजार १८ पुगेको छ । जसमध्ये, सबैभन्दा बढी सुर्खेत जिल्लामा १३ हजार २२२ र सबैभन्दा कम मुगु जिल्लामा १३२ रहेका छन् । डिजिटल भुक्तानी ग्राहकको संख्या समीक्षा वर्षमा डिजटल भुक्तानी ग्राहकको संख्या ११ लाख २६ हजार १९४ पुगेको छ । क्रेडिट कार्ड, डेबिड कार्ड, मोबाइल बैङकिङ, अनलाइन बैङकिङ, पिओएस, प्रिपेड कार्ड र क्युआर मर्चेन्टका कुल क्रमशः तीन हजार ६९९ संख्या, तीन लाख ६११, सात लाख ७६ हजार २२४, २० हजार ४७०, २५६, ५४९ र २४ हजार ३८५ संख्या पुगेको छ ।
निक्षेप र कर्जामा सुर्खेत अगाडि
समीक्षा वर्षमा कर्णाली प्रदेशमा सङ्कलित निक्षेप तथा प्रवाहित कर्जाको विश्लेषण गर्दा सुर्खेत जिल्ला सबैभन्दा अगाडि देखिएको छ । सो जिल्लामा समीक्षा वर्षमा ३० अर्ब २९ करोड ५२ लाख रुपियाँ निक्षेप सङ्कलन भएको छ भने, सोही अवधिमा ३५ अर्ब ८६ करोड सात लाख कर्जा प्रवाहित भएको छ ।
त्यस्तै सबैभन्दा कम निक्षेप सङ्कलन मुगु जिल्लामा दुई अर्ब ४७ करोड ८९ लाख रुपियाँ भएको छ भने डोल्पा जिल्लामा सबैभन्दा कम आठ करोड २५ लाख कर्जा प्रवाह भएको छ । अन्य वित्तीय विवरण समीक्षा वर्षमा कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुद्वारा संकलित कुल निक्षेपमध्ये बचत निक्षेपको अंश सबैभन्दा धेरै ५६.४७ प्रतिशत रहेको छ । त्यसैगरी मुद्दती, चल्ती र अन्य निक्षेपले क्रमशः २५.०५ प्रतिशत, १२.८७ प्रतिशत र ५.६१ प्रतिशत हिस्सा ओगटेका छन् ।
निक्षेप खाता २२ लाख
समीक्षा वर्षमा कर्णाली प्रदेशमा निक्षेप खाताको संख्या १२.८१ प्रतिशतले बृद्धि भई २१ लाख ९९ हजार २४९ पुगेको छ । गत वर्ष यस्तो संख्या १५.४३ प्रतिशतले बृद्धि भएको थियो । समीक्षा वर्षमा ऋणी खाताहरुको संख्यामा ४.३० प्रतिशतले बृद्धि भई ५३ हजार ४३० पुगेको छ भने गत वर्ष यो संख्यामा २.४० प्रतिशतले कमी आएको थियो ।
विपन्न र पुनरकर्जा बढ्यो
समीक्षा वर्षमा कर्णाली प्रदेशमा प्रवाह भएको विपन्न वर्ग कर्जा गत वर्षको तुलनामा ८.३३ प्रतिशतले बृद्धि भई पाँच पाँच अर्ब १५ करोड ९८ लाख रुपियाँ पुगेको छ । गत वर्ष सो कर्जा प्रवाह २.६० प्रतिशतले -हास आई चार अर्ब ७६ करोड ३० लाख कायम भएको थियो ।
यस्तै कर्णाली प्रदेशमा एक अर्ब ९३ करोड ७१ लाख रुपियाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ, जुन गत वर्षको तुलनामा ३५.५२ प्रतिशतले कमी हो । त्यसैगरी, समीक्षा वर्षमा यस प्रदेशमा पुनरकर्जा गत वर्षको तुलनामा १८४.१५ प्रतिशतले बृद्धि भई एक करोड १६ लाख रुपियाँ प्रवाह भएको छ ।
प्रदेशका प्रत्येक जिल्लाहरुमा एक–एक वटा गरी जम्मा १० वटा नोटकोषहरु रहेका छन् । समीक्षा वर्षमा सो प्रदेशका सबै नोट कोषहरुमा गरी जम्मा आठ अर्ब ४० करोड फण्ड ट्रान्सफर भएको छ । यस्तो रकम गत वर्ष भएको फण्ड ट्रान्सफरको तुलनामा २२.५९ प्रतिशतले कमी हो । त्यसैगरी, समीक्षा वर्षमा सबैभन्दा बढी सुर्खेत जिल्लामा दुई अर्ब ४० करोड फण्ड ट्रान्सफर भएको छ भने मुगु जिल्लामा समीक्षा वर्षमा फण्ड ट्रान्सफर भएको छैन ।

314 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ