डाटा विश्लेषण र दाबी प्रशोधनमा सुधार गर्न डिजिटल उपकरण र सफ्टवेयरलाई प्राथमिकतामा राखेका छौं
सुरेन्द्र थापा, प्रमूख कार्यकारी अधिकृत
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका बारेमा बताइदिनुहोस न ?
तत्कालीन समयमा नेपाल भित्रको आतंकवादसँग सम्बन्धित जोखिमहरू बढेको भन्दै विदेशी पुनर्बीमा कम्पनीहरू जोखिम स्वीकार गर्न अनिच्छुक भएका कारण नेपाल भित्रै उक्त जोखिमहरू बहन गर्ने उद्देश्यले वि.सं २०६०/६/३० मा नेपाल सरकार र सबै निर्जीवन बीमा कम्पनीहरूको संयुक्त लगानीमा आकस्मिक बीमा कोषको स्थापना भएको थियो । बर्सेनि पुनर्बीमा बापत लाखौं रकम नेपाल बाहिर जाने गरेको तथ्यलाई हृदयङ्गम गरी नेपालमै पुनर्बीमा कम्पनी स्थापना गर्ने सोच बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्ले २०७१ साउन २२ मा आकस्मिक बीमा कोषको समेत परिचालन गर्ने गरी नेपालमै पुनर्बीमा कम्पनी स्थापना गर्ने निर्णय ग-यो । सोही अनुरुप २०७१ कात्तिक २१ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई बीमा समितिबाट सोही वर्षकै पुस २४ गते कारोबार सञ्चालन गर्ने इजाजत पत्र प्राप्त गरी नेपाल पुनर्बीमा कम्पनीको स्थापना र सञ्चालन भएको हो । आकस्मिक बीमा कोषको सबै हक, अधिकार सम्पत्ति, दायित्व र कर्मचारी पुनर्बीमा कम्पनीमा सरेको छ । यस कम्पनीको स्थापना र परिकल्पना सार्वजनिक, निजी र साझेदारीको अवधारणा बमोजिम भएको हो। हाल यस कम्पनीले नेपाल लगायत विश्वका विभिन्न मुलुकका बीमा कम्पनीसंग पुनर्बीमा कारोवार गर्दै आइरहेको छ ।
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा आउनुभएको छ, कम्पनीलाई कस्तो रुपमा पाउनु भयो ?
निश्चयनै म यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा गत जेष्ठ १८ गते देखि कार्यभार सम्हालेको छु । यसरी हेर्ने हो भने मैले जिम्मेवारी सम्हाल्न थालेको करिब सात महिना भयो । यो बीचमा मैले कम्पनी परिवार, यसको कारोबार, सरोकारवालालगायत कम्पनीको बारेमा सुक्ष्म रुपमा हेरेको छु । नेपालको पहिलो सरकारी लगानीमा स्थापित पुनर्बीमा कम्पनी भएको नाताले यसको स्थापना, विकास, विस्तार र कारोबारको सामान्य प्रकृक्तिबारे म जानकार नै थिए तथापि कम्पनीको प्रमुखको हैसियतले यस परिवारमा आए पछि अझ बढी जान्ने बुझ्ने मौका पाएको छु । पूँजीगत हिसाबले कम्पनी निकै मजबुत छ, यहाँका कर्मचारीहरुले पनि पुनर्बीमाको अनुभव हासिंल गर्दै आफ्नो दक्षता प्रर्दशन गर्न सक्ने बनेको पाए । विश्वव्यपी व्यवसाय विस्तारको सम्भावना बोकेको यस कम्पनीमा अथाह सम्भावना भएको पाएको छु ।
अबका चार वर्ष यहाँको नेतृत्वमा कम्पनी कसरी अघि बढ्दैछ । यहाँको भावी योजनाहरु के के छन् ?
अवश्य नै अबका चार वर्ष यो कम्पनीको नेतृत्व मैले गर्दैछु । कम्पनीको प्रमुख कार्यकारी भएको नाताले मैले यस कम्पनीलाई गति दिनु छ । कम्पनीले विगत वर्षहरुमै गर्ने भनेर सोचेका अपुरा कार्यहरुलाई पूर्णता दिँदै नयाँ कार्यक्रम अघि बढाउने सोच राखेको छु । कम्पनीको संगठनात्मक संरचनाको पुनरावलोकन, कम्पनीको पञ्चवर्षिय रणनीतिक योजना तयार गरी लागू गर्ने तथा रिक्त रहेका पदहरुको पदपूर्ति गर्दै कम्पनीलाई अघि बढाउने सोच राखेको छु । कर्मचारीको उचित व्यवस्थापन हुन सकेमा मात्र कम्पनीको दिगो विकास हुने भएकाले यसका लागि कर्मचारी विनियमाबलीको समय सापेक्ष अद्यावधिक गर्ने, सेवा सुविधा पुनरावलोकन गर्ने, पेशागत दक्षता बृद्धि गर्न तालिमको व्यवस्था गर्ने सोच राखेको छु । विगत वर्षमै सुरु गर्ने भनिएको कम्पनीको व्यावसायिक भवन निर्माणको कार्यलाई पनि अघि बढाउनु छ । कम्पनीमा अन्तराष्ट्रिय स्तरको पुनर्बीमा सफ्टवेयर कार्यन्वयनमा ल्याउँदै द्रूत गतिमा गुणस्तरीय पुनर्बीमा सेवा दिने सोच राखेको छु । त्यसैगरी अन्तराष्ट्रिय बजारमा यसको उपस्थितिलाई बलियो बनाउन बजारीकण लगायतका आवश्यक कार्यहरु गरिनेछ ।
पूर्व प्रमुख कार्यकारी अधिकृतले हामीसँगको अन्तरवार्तामा “अब हामी कम्पनीको रेटिङ गराउँदै कम्पनीलाई अझ सबल र सक्षम बनाउँदै छौं “ भन्नु भएको थियो, यो विषय के हुँदैछ ?
पुनर्बीमा व्यवसायमा कम्पनीको स्तर निर्धारणले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । स्तरीकृत कम्पनीले गुणस्तरीय व्यवसाय सहज रुपमा प्राप्त गर्ने अवसर प्राप्त गर्ने भएकाले हामीले पनि राम्रो व्यवसाय प्राप्त गर्न यसको स्तर निर्धारण (रेटिङ) गराउनु पर्नेछ । तपाईले भने जस्तै कम्पनीको स्तर निर्धारण गर्ने गराउने विषयको सुरुवात पूर्व प्रमुख कार्यकारी अधिकृतले गरेर जानु भएको छ अब मेरो कार्यकालमा यो चाँडै नै पुरा हुँदैछ । अन्तराष्ट्रिय स्तर निर्धारक एजेन्सीले यो कार्य गरिरेहेको छ सम्भवतः यो चाडै नै टुंगिने छ ।
अन्तराष्ट्रिय स्तरको सफ्टवेयर खरिद प्रयास र त्यसले कम्पनीको सञ्चालनलाई कसरी लाभ पु-याउँछ ?
हामीले डाटा व्यवस्थापनलाई सुदृढ र सुरक्षित बनाउन अन्तराष्ट्रिय स्तरको सफ्टवेयर प्रणालीको प्रयोग गर्न लागेका छौं । सफ्टवेयर खरिद प्रक्रिया चलिरहेको छ । सफ्टवेयर प्रदायकहरुले पेश गरेको प्रस्तावहरूको मूल्याङ्कन गरिरहेका छौं । सफ्टवेयर प्रणालीले पुनर्बीमा प्रक्रियालाई डिजिटलाइज गरी समयमै गुणस्तरीय ढंगले दाबी प्रशोधन हुने विश्वास लिएका छौ । यसले प्रशासनिक लागत घटाउने र सेवा द्रुत गतिमा उपलब्ध गराउन सहयोग पु¥याउनेमा हामी विश्वस्त छौं ।
कम्पनीको भविष्यका प्राथमिक उद्देश्यहरू के के रहेका छन् ?
हामीले आगामी वर्षहरूमा डिजिटलाइजेसनलाई प्राथमिकता दिने, जोखिम व्यवस्थापनमा सुधार ल्याउने र अन्तराष्ट्रिय पुनर्बीमा बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य बनाएका छौं ।
कम्पनीको जोखिम बहन क्षमतामा बृद्धि गर्ने, दक्ष जनशक्ति विकास गर्ने र ग्राहक आवश्यकतामा आधारित सेवा विस्तार गर्ने हाम्रो प्रमुख योजना हो । हामीले बजारमा नवप्रवर्तनकारी उपायहरू प्रयोग गर्दै थप अग्रणी कम्पनीको रूपमा स्थापित हुने लक्ष्य लिएका छौं ।
अन्तराष्ट्रिय स्तरमा कम्पनीको पहिचान विस्तारका लागि के–कस्ता प्रयास गरिरहनु भएको छ ?
हामीले अन्तराष्ट्रिय पुनर्बीमा बजारसँगको सहकार्य र साझेदारीमा जोड दिँदै आएका छौं । नेपालको पुनर्बीमा बजारलाई अन्तराष्ट्रिय पुनर्बीमा संस्थासँग जोड्न, ज्ञान आदानप्रदान र जोखिम व्यवस्थापनको दृष्टिकोणमा सुधार गर्दै आफ्नो उपस्थिति सशक्त बनाउन लागेका छौं । यसै सन्दर्भमा हामीले अन्तराष्ट्रिय बजारम विभिन्न पुनर्बीमा कम्पनी तथा पुनर्बीमा ब्रोकर मार्फत नेपालको पुनर्बीमा बजारको प्रतिनिधित्व गर्दै सकारात्मक छाप बनाउन प्रयास गरिरहेका छौं ।
कम्पनीको विकासमा कर्मचारी तालिमको भूमिका कस्तो रहन्छ ?
कर्मचारीको दक्षता र क्षमता बृद्धि कम्पनीको दीर्घकालीन सफलताको आधार हो । हामीले नियमित रूपमा कर्मचारी तालिम कार्यक्रमहरू सञ्चालन गर्दै उनीहरूको ज्ञान र सीपलाई अद्यावधिक बनाउने कार्य गर्दै आएका छौं । यसमा विशेष गरी अन्तराष्ट्रिय स्तरका पुनर्बीमा विशेषज्ञको सहकार्यमा विशेष प्रशिक्षण कार्यक्रमहरू आयोजना गर्दै आइरहेका छौं । कर्मचारीहरुलाई स्वदेश तथा विदेशका तालिम, गोष्ठि तथा सेमिनारहरुमा सहभागी गराउदै आएका छौं । यसले गर्दा कर्मचारीहरुमा ज्ञानको पुर्नताजगी हुने, कर्मचारीहरुको आत्मविश्वास बढ्ने र अन्तराष्ट्रिय अभ्यासका बारेमा जानकारी हुने भएकाले त्यसले कम्पनीमा दिगो मानव पूँजी विकास हुने विश्वास लिएका छौं ।
बीमा र पुनर्बीमा क्षेत्रका प्रमुख चुनौतिहरु के हुन र तिनको समाधानका लागि कम्पनीले के योजना बनाएको छ ?
जोखिम मूल्याङ्कन, प्रतिस्पर्धा र दक्ष जनशक्तिको कमी नेपालको बीमा÷पुनर्बीमा क्षेत्रको मुख्य चुनौती हो । यसका अलवा नेपालको हाइड्रोपावरसँग सम्बन्धित जोखिमको रक्षावरण गर्न विदेशी पुनर्बीमा कम्पनी अनिच्छुक बन्दै गएकाले त्यसको उचित व्यवस्थापन गर्नुपर्ने दायित्व हाम्रो काँधमा आएको छ । तुलनात्मक रुपमा जीवन बीमा प्रति जनचेतना बढ्दै गएको भएता पनि निर्जीवन बीमा प्रतिको जनचेताना बढ्न सकेको छैन त्यसैले निर्जीवन बीमा क्षेत्रमा बीमाको दायरा बढ्न सकेको छैन । यी चुनौतीहरूको समाधानका लागि हामीले अन्तराष्ट्रिय मापदण्डका पुनर्बीमा प्रक्रिया, अभ्यास र उपकरणको प्रयोग गर्दै हाम्रा व्यावसायिक साझेदारहरुको जोखिमाङ्कन क्षमता बृद्धि गर्न जोड दिएका छौं ।
कम्पनीको समग्र विकासमा प्रविधि र डिजिटलाइजेसनको भूमिका कस्तो रहन्छ ?
डिजिटल प्रविधि अहिलेको बजारमा कम्पनीको प्रतिस्पर्धात्मक क्षमतालाई बढाउन एक महत्वपूर्ण माध्यम हो। हामीले हाम्रो पुनर्वीमा प्रक्रियालाई थप सशक्त बनाउँदै डेटा विश्लेषण र दाबी प्रशोधनमा सुधार गर्न डिजिटल उपकरण र सफ्टवेयरलाई प्राथमिकतामा राखेका छौं। यसले दाबी दर्ता, दाबी व्यवस्थापन र जोखिम मूल्याङ्कनमा सुधार ल्याउँनेमा हामी आशावादी छौ । सम्भवत चाडै नै हाम्रो कम्पनीले अन्तर्राष्ट्रिय स्तरको पुनर्वीमा सफट्वेयर कार्यन्वयनमा ल्याउने छ जसले गर्दा कार्यगत जटिलला, समय र गुणस्तरमा सुधार विश्वास गरिएको छ ।
नेपाल बीमा प्राधिकणले २० अर्ब चुक्ता पूँजी पु¥याउन भनि तोकेको समय सीमा २०८१ माघ मसान्तमा समाप्त हुँदैछ, यस कम्पनीले निर्धारीत समय सीमा भित्र उक्त चुक्ता पूँजी पु-याउँछ ?
नियमाकीय निर्देशन बमोजिम उपरोक्त समय सीमा भित्र हाम्रो चुक्ता पूँजी २० अर्ब पु-याउनका लागि नेपाल सरकार समक्ष विभिन्न विकल्प सहितका प्रस्ताव पेश गरिसकिएको छ । नेपाल सरकारबाट स्वीकृत हुनासाथ सोही बमोजिम पूँजी बृद्धि भई २० अर्ब चुक्ता पूँजी पु-याइने छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायिक कार्यक्षेत्र भएको यस कम्पनीले सेयरधनीलाई पाँच प्रतिशतभन्दा बढी प्रतिफल दिनै नसक्ने हो त ? आगामी दिन कस्तो प्रतिफलको अपेक्षा गर्ने लगानीकर्ताले ?
कम्पनीको स्तर निर्धारणको कार्य भइरहेको छ । स्तर निर्धारण भइसके पश्चात अन्तराष्ट्रिय व्यवसायमा उल्लेख्य वृद्धि भई प्रतिफलमा कमिक रुपमा बृद्धि हुने अपेक्षा गरिएको छ । यसका साथै, सफ्टवेयर कार्यन्वयन पश्चात प्रशासनिक खर्चमा मितव्ययिता आउने, अण्डरराइटिङ सम्बन्धि कार्य अनुभवका आधारमा जोखिम विश्लेषण गरेर मात्र व्यवसाय लिने, दाबी भुक्तानी गर्दा बीमकसँग अन्तरक्रिया तथा छलफल गरी चुस्त दुरुस्त रुपमा दाबी व्यवस्थापन गरिने तथा पुनर्वीमा लागतमा समेत मितव्ययिता अपनाइने हुँदा प्रतिफलमा बृद्धि हुने अपेक्षा गरिएको छ ।
अन्त्यमा केही भन्नु छ कि ?
यो कम्पनी स्थापनाको दशौं वर्ष पूरा गरी एघारौ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा म नेपाल सरकार, अर्थ मन्त्रालय, नियामक नेपाल बीमा प्राधिकरण, सेयर सदस्य, व्यवसायिक सहयात्री, स्वदेश तथा विदेशका बीमा विज्ञहरु, यस कम्पनी प्रति प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्ने अनेकन संघ संस्थाहरु, कर्मचारीहरु प्रति यस कम्पनीलाई आजको उपलब्धिमुलक अवस्थासम्म ल्याई पु-याउन सहयोग पु¥याउनु भएकोमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि अझै प्रभावकारी सहयोग र समन्वयको अपेक्षा सहित एघारौ वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना समेत व्यक्त गर्न चाहन्छु ।
75
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो
-
विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न जुट्यो ७२ अर्ब ९३ करोड
-
निर्जीवन बीमा व्यवसायी संघले भन्यो - ‘‘सञ्चालकहरुको सेयर एक बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’’
-
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
-
कालिका पावर कम्पनीले ७ प्रतिशन बोनस दिने
-
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन: