पात्रो

रेडियो

समाचार खोजी

कोषले लगानी विविधीकरण, सहभागीहरुको हित र सेवा प्रभावकारीतालाई उच्च प्राथमिकतामा राखेको छ

सहभागी कोषमा दुई खर्ब ३६ अर्ब रहेको र लगानी दुई खर्ब ४८ अर्ब

साझा अर्थ संवाददाता ६ चैत २०८१, बुधवार

पर्वतकुमार कार्की
कार्यकारी निर्देशक, नागरिक लगानी कोष
वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका पर्वतकुमार कार्कीले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त भई कार्यभार सम्हाल्नुभएको एक वर्ष पुगेको छ । यस अवधिमा भएका कार्यसम्पादन, नागरिक लगानी कोषका गतिविधि एवं आगामी दिनका लागि नागरिक लगानी कोषको कार्ययोजनाबारे कोषको ३५औं वार्षिकोत्सवको अवसरमा कार्यकारी निर्देशक कार्कीसँग भएको कुराकानी :
यस पटक पुस मसान्तभित्रै तीसांै साधारणसभा गर्नुभयो । कसरी सम्भव भयो र साधारणसभाले पारित गरेको वित्तीय विवरण एवं लाभांश के–कस्तो रह्यो ?
कोषले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्रै साधारणसभा सम्पन्न गर्ने गरी नयाँ आर्थिक वर्षको सुरुमै योजनबद्ध ढंगले काम अगाडि बढाएको थियो । यसैअनुरुप बाह्य लेखा परीक्षणको कार्य समयमै सुरु गरिएको र लेखा परीक्षणमा आवश्यक पर्ने कारोबारको विवरण निर्दिष्ट समयमै तयार गरी लेखा परीक्षकलाई उपलब्ध गराउन सम्बन्धित सबै कर्मचारीले अथक मिहिनेतका साथ काम गर्नुभयो । लेखा परिक्षणका लागि खटिनुभएका बाह्य लेखा परीक्षकले पनि समयसारिणीसहितको निश्चित कार्ययोजना बनाई निर्धारित समयमै कार्य सम्पन्न गर्न विशेष मिहिनेत गर्नुभयो । समग्रमा  सञ्चालक समितिको मार्गदर्शन तथा हौसला कोषका कर्मचारीको लगनशीलता, गत वर्षको साधारणसभाले प्रदान गरेको मार्गदर्शनबाट पुस मसान्तभित्रै साधारणसभा सम्पन्न गर्न कोष सफल भएको हो ।
साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणलाई स्वीकृत गर्नुका साथै आम्दानी बाँडफाँड हिसाबबाट छुट्याएको प्रस्तावित सात प्रतिशत बोनस सेयर र छ प्रतिशत नगद लाभांश (करसहित) गरी १३ प्रतिशत लाभांश स्वीकृत गरेको छ । यसअनुसार कोषले नियमित रूपमा आफ्ना सेयरधनीलाई उचित प्रतिफल दिन सफल भएको छ । स्थापनाकालमा दुई करोड ४४ लाख रुपियाँ  चुक्ता पुँजी भएको कोषको पुँजीमा धेरै ठूलो बृद्धि भएको छ । तीसौं साधारणसभापछि कोषको चुक्ता पुँजी छ अर्ब ४८ करोड १७ लाख रुपियाँ पुगेको छ ।
आर्थिक वर्ष २०८०/८१ को साधारणसभाले स्वीकृत गरेको वित्तीय विवरणअनुसार सहभागी कोषमा दुई खर्ब ३६ अर्ब रहेको र लगानी दुई खर्ब ४८ अर्ब रहेको छ । केन्द्रीय हिसाबतर्फ सो आर्थिक वर्षमा एक अर्ब १५ करोड खुद नाफा भएको छ ।
कोषले हाल सञ्चालन गरिरहेका योजना तथा कार्यक्रम र ती कार्यक्रमको विशेषताका बारेमा  बताइदिनुस न ?
कोषले अवकाश कोष व्यवस्थापन तथा सामाजिक सुरक्षाका सम्बन्धमा विगतदेखि नै काम गर्दै आइरहेको छ । कोषले हाल विभिन्न सात वटा कार्यक्रम-योजना सञ्चालनमा ल्याएको छ । यी योजनामा कर्मचारी बचत बृद्धि अवकाश कोष, उपदान तथा पेन्सन योजना, लगानीकर्ता हिसाब योजना, राष्ट्रसेवक कर्मचारी जीवन बीमा कोष, नागरिक एकांक योजना, नागरिक पेन्सन योजना र नेपाल कृषि अनुसन्धान परिषद बीमा कोष रहेका छन् ।
कर्मचारी बचत बृद्धि अवकाश कोषमा निजामती कर्मचारी वा सरकारी/अर्धसरकारी वा प्रचलित कानुनबमोजिम स्थापित गैरसरकारी संगठित संस्थामा कार्यरत कर्मचारी सहभागी हुन सक्छन् । कोषका सहभागीले बचत गर्न सुरु गरेको दुई आर्थिक वर्ष (७३० दिन) पछि बचत रकमबाट सापटी सुविधा लिन सक्ने व्यवस्था छ । साथै, सहभागीलाई कोषले निजी आवासीय घर निर्माण, घर खरिद, फ्ल्याट खरिद, घर मर्मत, घर सजावटलगायतका शीर्षकमा कर्जा प्रदान गर्ने गर्दछ ।
यसैगरी सहभागीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र पारिवारिक प्रकृतिका भइपरी आउने कार्यका लागि घरजग्गा धितोमा सरल कर्जा सुविधासमेत कोषले दिँदै आएको छ । सहभागीको जम्मा बचत रकममा ब्याज र थप प्रतिफल दिने एवं सहभागी बचतकर्ताको दुर्घटना भई मृत्यु भएमा एक लाख रुपियाँसम्मको विपद सहुलियतको व्यवस्थासमेत रहेको छ । यस कोषका सहभागीलाई आयकर नियमाबली, २०५९ (पन्ध्रौं संशोधन) अनुसार वार्षिक पाँच लाख रुपियाँ वा निर्धारणयोग्य आयको एक तिहाइमा जुन घटी हुन्छ, सो रकमसम्म कर छुटसमेत हुने व्यवस्था छ ।
उपदान तथा पेन्सन योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारी यस योजनमा सहभागी हुन सक्छन् । पेन्सन प्राप्त गर्न सहभागीको उमेर ५८ वर्ष वा १५ वर्ष योगदान गरेको हुनुपर्ने व्यवस्था रहेको छ । सहभागीको १५ वर्ष बचत नहुँदै ५८ वर्ष पूरा भएमा जम्मा गरेको रकम र सोबाट आर्जित ब्याज र प्रतिफल एकमुष्ट वा पेन्सनको रूपमा लिन सक्नुहुनेछ । यस योजनामा योगदनमा आधारीत हुन संगठित संस्थामा कार्यरत कर्मचारीको तलबबाट केही रकम कट्टा गरी सो रकममा संस्थाले थप गर्नुपर्ने व्यवस्था रहेको छ । गैरयोगदनामा आधारीत भन्नाले संगठित संस्थाले मात्रै जम्मा गर्ने व्यवस्थालाई बुझाउँछ ।
राष्ट्र सेवक कर्मचारी जीवन बीमा कोषमा निजामती, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग लगायतमा कार्यरत राष्ट्रसेवकहरुको जीबन बीमाको लागि प्रिमियम रकम संकलन हुने र सो को व्यवस्थापन गरिने कार्य हुने गरेको छ ।
लगानीकर्ता अवकाश योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारी योजनामा सहभागी हुन सक्नेछन् । कर्मचारीको औषधोपचार खर्च, कल्याणकारी कोष, बीमा कोष, हित कोष, वार्षिकोत्सव बापतको कोष, सञ्चित विदालगायतका दायित्व व्यवस्थापनका लागि यस योजनामा सहभागी हुन सकिन्छ ।
नागरिक एकांक योजनाअन्तरगत साना तथा मध्यमस्तरका लगानी कर्ताहरूबाट रकम सकलन गर्ने र सो पुँजीलाई दक्ष र व्यवसायिक ढंगबाट लगानी प्रवद्र्धन गरी सोबाट प्राप्त भएको प्रतिफल सहभागीलाई वितरण गर्ने गरिन्छ ।
नागरिक पेन्सन योजनामा सबै नेपाली नागरिक सहभागी हुन सक्नेछन् । यसमा गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकसमेत सहभागी हुन सक्ने व्यवस्था कोषले गरेको छ । न्यूनतम मासिक पाँच सय रुपियाँ जम्मा गरेर योजनामा सहभागी हुन सकिने तथा आफ्नो क्षमतानुसार १० ले भाग जाने जतिसुकै रकम पनि जम्मा गर्न सकिने व्यवस्था यस योजनामा रहेको छ । जम्मा भएको रकममा आकर्षक ब्याज/प्रतिफलका अतिरिक्त अन्य सुविधासमेत रहेको छ । सहभागीको उमेर ६० वर्ष पूरा भएपछि मासिक रूपमा नियमानुसार पेन्सन लिन सकिने र पेन्सन लिन नचाहे योजनामा सहभागी भएको निश्चित समयपछि एकमुष्ट रकम फिर्ता भुक्तानी लिन सकिने व्यवस्था रहेको छ ।
नेपाल कृषि अनुसन्धान परिषदको बीमा कोषमा नेपाल कृषि अनुसन्धान परिषदका कर्मचारीको मासिक पारिश्रमिकबाट तोकिएको रकम कट्टा गरी सोमा परिषदको तर्फबाट त्यति नै रकम थप गरी कोषमा जम्मा भएको रकमलाई लगानी गर्ने र सोबाट परिषदका कर्मचारीको बीमा व्यवस्था गर्न यो कोष सञ्चालन गरिएको हो ।
कोषले सञ्चालन गरेका यी योजना तथा कार्यक्रममा कर्जा सापटी सुविधालगायत उचित प्रतिफल र विभिन्न सामाजिक सुरक्षाका सुविधासमेत दिने गरिएको छ । यी कार्यक्रममा सहभागी भएर नेपाली नागरिकलाई आफ्नो अवकाश जीवनलाई आर्थिक रूपमा थप सुरक्षित बनाउने अवसर कोषले प्रदान गरेको छ ।
कोषको लगानीका क्षेत्र के के छन् ?
चालू आर्थिक वर्षको पुस मसान्तसम्म कोषले दुई खर्ब ६४ अर्ब ७७ करोड रुपियाँ लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म कोषको लगानी दुई खर्ब ३५ अर्ब पाँच करोड रुपियाँ रहेको थियो । यस अनुसार यस अवधिमा १२.६४ प्रतिशतले लगानी बृद्धि भएको छ । कुल लगानीमध्ये मुद्दती निक्षेपमा करिब ५२ प्रतिशत लगानी रहेको छ भने नेपाल सरकारको ऋणपत्रमा ०.१९ प्रतिशत, समयकालीन कर्जामा ९.७४, सहायक कम्पनीमा १.०३, सहभागी सापटी तथा आवास कर्जामा २०.७५, ट्र्ेजरी बीलमा ४.४४, संगठित संस्थाको सेयर धितोपत्रमा ११.६७ प्रतिशत लगानी छ । आगामी दिनमा सरकारी प्राथमिकताका भौतिक पूर्वाधारका परियोजना, कृषि, पर्यटनलगायतका उत्पादनशील क्षेत्रमा तथा पुँजी बजारका क्षेत्रमा लगानी बढाउँदै लैजाने योजना कोषको रहेको छ ।
कोषको लगानी संरचना हेर्दा मुद्दती निक्षेपमा अधिकेन्द्रीत भएको देखिन्छ । यसबारेमा तपाईंको धारणा के छ ?
तुलनात्मक रुपमा अन्य क्षेत्र भन्दा मुद्दती निक्षेपमा लगानी अलि बढी रहेको छ । यसरी मुद्दती निक्षेपको लगानी अंश धैरै हुनुमा विभिन्न कारण छन् । पहिलो कारण, विगतमा मुद्दती निक्षेपको प्रतिफल दर आकर्षक हुनु नै हो भने यो लगानी अन्य क्षेत्रको लगानीभन्दा सुरक्षितसमेत हुने हुन्छ । दोस्रो कारण, लगानीका लागि सुरक्षित र आकर्षक क्षेत्रको पहिचान तथा उपलब्धतामा कमीले गर्दा पनि मुद्दती निक्षेपमा बढी लगानी रहन गएको हो । लगानीको यो अधिकेन्द्रिततालाई कम गर्न कोषले लगानी विविधीकरणलाई उच्च प्राथमिकतामा राखेको छ । यसका लागि लगानीका अन्य क्षेत्रको पहिचान गर्ने, भौतिक पूर्वाधार निर्माणका क्षेत्र, उत्पादनशील क्षेत्र, पुँजी बजारको क्षेत्रमा लगानी बढाउने योजना बनाई कार्य थालनी गरिएको छ । यद्यापि अवकाश कोष सञ्चालन गर्ने संस्थाहरूले सहभागीबाट संकलन भएको रकमको लगानी गर्दा सुरक्षित लगानीलाई उच्च प्राथमिकतामा राख्नुपर्दछ र अवकाश रकम भुक्तानीका लागि दैनिक रुपमा आवश्यक पर्ने तरलता उपलब्धताका लागिसमेत उल्लेख्य रकम निक्षेपमा राख्नुपर्ने आवश्यकता हुन्छ ।
मुद्दती निक्षेपको अंश घटाउँदै लैजाने भन्नुभयो । यसरी घटाउँदा यसका विकल्पमा अरु कुन–कुन क्षेत्र उपयुक्त हुने देख्नुभएको छ ?
लगानी विविधीकरणका लागि कोषले आफ्नो लगानी नीति र कर्जा कार्यविधिमा केही परिमार्जन गरेको छ । लगानी विविधीकरणका क्षेत्रगत कुरा गर्दा माथि उल्लेख गरिएअनुसार अहिलेको परिवेशमा सरकारी प्राथमिकताका पूर्वाधार निर्माणका परियोजना, कृषि, पर्यटन, मझौला उद्योगजस्ता उत्पादनशीलक्षेत्र, पुँजीबजार क्षेत्र एवं आफ्ना सहभागीलाई प्रदान गरिने कर्जा नै हुन् । यसै सन्दर्भमा  कोषले जलविद्युत परियोजनामा लगानी गर्न थालेको छ । पुँजी बजारका विभिन्न उपकरणमा लगानी बढाउने गरी कार्य अघि बढाइएको छ । सरकारी ऋणपत्रमा समेत लगानी वृद्धि गर्दै लगिएको छ । सहभागीलाई प्रदान गरिने कर्जाको सिलिङ बढाइएको छ ।
पुँजी बजारको विकासका लागि कार्य गर्ने कोषको उद्देश्यमा देखिन्छ ।  यसतर्फ के–के कार्य भएका छन् ?
नागरिक लगानी कोष ऐनको प्रस्तावनामै ‘देशको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत पँुजीको बचत गर्न प्रोत्साहित गरी लगानीका अवसर बढाउन तथा पुँजी बजारको विकासमा गतिशीलता ल्याउन एउटा नागरिक लगानी कोषको स्थापना र व्यवस्था गर्न वाञ्छनीय भएकोे’ उल्लेख छ । त्यसैले कोषले पुँजी बजारको विकासमा सघाउ पु¥याउने गरी विभिन्न कार्य गरिरहेको छ । यसै सन्दर्भमा कोषले मर्चेन्ट बैंकको रूपमा समेत विभिन्न सेवा प्रदान गर्ने गर्दछ । यसका अलावा कोषले पुँजी बजारका विभिन्न उपकरण सेयर, बन्ड, डिबेन्चरलगायतमा लगानी गर्दछ । कोषले दोस्रो बजारमा सेयर खरिद बिक्रीको कार्यसमेत गर्ने गरेको छ । पुँजी बजारको विकासमा सघाउ पु-याउने क्रममा कोषले सहायक कम्पनीको रुपमा नागरिक स्टक डिलर कम्पनीको स्थापना गरेको हो । यस कम्पनीले समेत पुँजी बजारको विकासमा सघाउ पु-याइरहेको छ ।
सहभागीलाई दिने सेवालाई सरल र झन्झटरहित बनाउनेतर्फ के कस्तो कार्य गरिएको छ र गर्ने योजना छ ?
कोषले सहभागीहरुको हित र सहभागीहरुलाई प्रदान गर्ने सेवालाई सरल, छिटो, छरितो एवं झन्झटरहित बनाउने कार्यलाई प्राथमिकतमा राखेको छ । सेवा प्रभावकारिता बनाउन एवं कोषको हिसाब–किताबलाई चुस्त÷दुरुस्त राख्न यान्त्रिकीकरण (डिजिटलाइजेसन र अटोमेसन) को कार्यलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएका छौं ।
सेवाग्राहीलाई सूचना लिने सुविधाका लागि सिआइटी स्मार्ट मोबाइल एप कार्यान्वयनमा रहेको छ । राष्ट्रसेवक कर्मचारीबाट  संकलन हुने रकमलाई सरकारको केन्द्रीय लेखा प्रणाली (सीजीएएस) बाट लिने व्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा ल्याइएको छ भने स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) सँग कोषको कोर सफ्टवेयरलाई आबद्ध गर्ने कार्य भइरहेको छ । यसबाट स्थानीय निकायका कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकको कर्मचारी बचत बृद्धि कोष र सावधिक जीवन बीमा कोषको कोष कट्टी विवरण सोझै सुत्र मार्फत कोषको सफ्टवेयरमा आउनेछ ।
कोषको ई–सर्भिस पोर्टलबाट कर्मचारी बचत बृद्धि अवकाश कोषका सहभागीले विशेष सापटीका लागि अनलाइन आवेदन दिन सक्ने सुविधा उपलब्ध गराइएको छ । यही पोर्टलबाट अफिस लगइन गरी नयाँ सहभागी ग्राहकको कोषमा खाता खोल्न सकिने व्यवस्थासमेत मिलाएको छ ।
सहभागीले एनएचसीएलको कनेक्ट आईपीएस, खल्ती र ईसेवाजस्ता वालेटबाट किस्ता रकम कोषमा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएएको छ । यसैगरी सहभागीको केवाईसी विवरण अनलाइनबाटै अपडेट गर्न सकिने व्यवस्था मिलाइएको छ । सहभागीले अन्तिम भुक्तानी सोझै आफ्नो बैङ्क खातामा प्राप्त गर्न सक्नेछन् । यसरी कोषले अटोमेसनको माध्यमबाट सेवालाई सहज, सरल बनाउँदै लगेको छ भने कार्यालयमा भौतिक रुपमा उपस्थित हुने÷हुनुपर्ने ग्राहकलाई हेल्प डेस्क व्यवस्था गरी आवश्यक  सूचना उपलब्ध गराउने र विभिन्न शाखामा ग्राहकलाई सरल तरिकाले सेवा प्रदान हुने व्यवस्था मिलाएको छ ।
कोषले सेवा प्रभावकारीताका लागि सूचना प्रविधि क्षेत्रमा विकास भएका आधुनिक सुविधालाई पनि प्रयोगमा ल्याउने सोच बनाएको छ । विशेषतः हाल विश्वमा आर्टिफिसियल इन्टेलिजेन्स एआईले कार्यालयको काममा धेरै सहयोग पु-याउने र कार्य प्रणालीमा ठूलो सहजता ल्याएको भन्ने छ  । कोषले पनि एआईको प्रयोग गर्ने दिशामा आवश्यक अध्ययन अघि बढाएको छ ।
अन्त्यमा, कोषका सेवाग्राहीलाई के भन्न चाहनुहुन्छ ?
सेवाग्राहीले कोषलाई जसरी विश्वास गर्नुभएको छ, कोषले पनि सेवाग्राहीलाई चुस्त/दुरुस्त र झन्झटरहित सेवा प्रदान गर्न एवं सेवाग्राहीबाट संकलित रकमलाई सुरक्षित रुपमा लगानी गरी राम्रो प्रतिफल दिने प्रतिबद्धता व्यक्त गर्दछ । कोषले सहभागीलाई प्रतिफलका अतिरिक्त आफनो सामथ्र्यले भ्याएसम्म सामाजिक सुरक्षाका विभिन्न सेवा प्रदान गरिरहेको र आगामी दिनमा सामाजिक सुरक्षाको सेवालाई बढाउँदै लैजानेछ ।
कोषले सहभागीको अवकाश जीवनलाई सहज बनाउन आवश्यक पर्ने वित्तीय स्रोतका लागि विभिन्न अवकाश योजना सञ्चालनमा ल्याएको छ । यी अवकाश योजनाको विशेषताबारे माथि उल्लेख गरिएको छ । यसै सिलसिलामा सरकारी, गैरसरकारी संघसंस्थामा कार्यरत धेरैजसो कर्मचारीले कोषको योजनामा सहभागिता जनाइसक्नुभएको छ । कोषको योजनामा सहभागी हुन बाँकी रहनुभएका राष्ट्रसेबक कर्मचारीलगायत अन्य संघ–संस्थामा कार्य गर्ने कर्मचारी एवं स्वरोजगारमा रहेका आमनेपाली नागरिकलाई कोषका अवकाश योजनामा सहभागी हुनुभई अवकाश जीवनलाई आर्थिक रुपमा सुरक्षित बनाउन सबैलाई आग्रह गर्दछु । कतिपय नेपाली नागरिकमा नागरिक लगानी कोषका कार्यक्रम कर्मचारी लक्षित मात्र छन् भन्ने बुझाइसमेत रहेको पाइएको छ । कोषले स्वरोजगारमा रहेका, वैदेशिक रोजगारमा रहेका एवं देशका सबै भूगोलमा वसोबास गर्ने दाजुभाइ तथा दिदीबहिनी एवं वैदेशिक रोजगारमा रहेकालाई लक्षित गरी नागरिक पेन्सन योजनासमेत सञ्चालनमा ल्याएको छ । यस योजनामा सहभागी भई सक्रिय उमेरमा कमाएको रकमलाई पेन्सन योजनामा लगानी गरेर अवकाश जीवनलाई सुरक्षित बनाउनसमेत सम्बद्ध सबैमा अनुरोध गर्दछु । कोषले सञ्चालन गरेका कार्यक्रम -योजनामा विश्वास गरी सहभागिता जनाउनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु ।

403 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु