काठमाडौंः जुम्लाको तिला गाउँपालिकाले भदौ ५ अगावै स्याउ नटिप्न आग्रह गरेको छ । गाउँपालिकाले स्याउ उत्पादकहरुलाई सो अनुरोध गरेको हो ।
स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ सङ्कलन तथा निकासी गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायले जानकारी दिनुभयो ।
गाउँ कार्यपालिकाको बैठकको निणर्यले वडा नं १-९ सम्मका सबै स्याउ बगैँचा धनी र व्यापारीलाई भदौ ५ गतेभन्दा अघि स्याउ नटिप्न र निर्यात नगर्न अनुरोध गरेको छ । पालिकाले जुम्लाबाट देशका विभिन्न जिल्लाका सहरमा भदौ पहिलो साता अगावै निर्यात गर्न नदिने निणर्य गरेको अध्यक्ष रोकायको भनाई रहेको छ । असमयमै स्याउ टिप्दा स्याउ परिपक्व नहुने, रङ नभरिने, उपभोक्ताले आवश्यक स्वाद प्राप्त नगर्ने, काँचो स्याउले जुम्ली जैविक स्याउको कुप्रचार मात्र नभई यहाँको बदनाम हुने तथा किसानले सोचेको मूल्य नपाउने भएकोले यस्तो निणर्य गरिएको अध्यक्ष रोकायले बताउनु भयो ।
साझा अर्थ संवाददाता