सुर्खेत : आर्थिक वर्ष २०८०/०८१ मा कर्णाली प्रदेशबाट रु चार अर्ब ११ करोडको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात भएको पाइएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममाृ उक्त जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले कृषिजन्य उपज (तरकारी, सुन्तला, फलफुल, मसलाबाली, मह आदि) रु दुई अर्ब २६ करोड ६७ लाख ११ हजारको प्रदेशबाहिर निर्यात गरिएको जानकारी दिनुभयो । त्यस्तै, पशुपंक्षीजन्य उपज (खसी, दुध, माछा, मासु, घ्यू, राडीपाखा, छुर्पी आदि) रु एक अर्ब ८४ करोड ९० लाख ७० हजारको निर्यात गरिएको उहाँले बताउनुभयो ।
कर्णाली प्रदेशको मूल प्रवेशद्वारा बबई र कपुरकोट नाकाबाट लिइएको तथ्याङ्कअनुसार कृषि तथा पशुपंक्षीजन्य उपजबाट रु चार अर्ब ११ करोड ७७ लाख ८१ हजार सङ्कलन भएको मन्त्रालयका सचिव टिकाराम थापाले जानकारी दिनुभयो । यसैगरी गत आवमा छ बैंक तथा आठ सहकारीबाट रु ९९ करोड ९७ लाख १४ हजार पुँजी परिचालन गरी प्रदेश सरकारले रु तीन करोड ४० लाख २३ हजार ब्याज अनुदान भुक्तानी गर्दा यसबाट कर्णालीका नौ सय ७१ व्यावसायिक कृषक लाभान्वित भएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा कृषिमन्त्री विनोदकुमार शाहले कृषक र कृषि व्यवसायीलाई उपलब्ध गराइने अनुदानलाई व्यवस्थित एवं प्रभावकारी बनाउन उत्पादनमा आधारित प्रोत्साहन र साना तथा मझौला कृषिमा आधारित उद्योग एवं उद्यमीलाई ब्याज अनुदान सहयोग गरिने बताउनुभयो । कृषि क्षेत्रमा ठूला खालका भौतिक पूवाधार, शीतभण्डार, सङ्कलन केन्द्र, सोलार स्टोर, प्रशोधन उद्योग आदि निर्माणपूर्व सम्भाव्यता अध्ययन गर्ने र ठूला योजनाभन्दा साना तथा मध्यम योजना कार्यान्वयनलाई प्राथमिकता दिइने पनि उहाँले बताउनुभयो ।(रासस)
साझा अर्थ संवाददाता