काठमाडौँ, २९ जेठ : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रको विकासलाई गति दिन सरकारसँग तत्काल अध्यादेशमार्फत 'सनसेट ल' ल्याउन माग गर्नुभएको छ। शुक्रबार आयोजित इप्पानको २४औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष कार्कीले नियमित संसदीय प्रक्रियाबाट ऐन बन्न कम्तीमा एक वर्ष लाग्ने भएकाले द्रुत विकासका लागि अध्यादेश अपरिहार्य भएको बताउनुभयो।
अध्यक्ष कार्कीले वर्तमान ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको १०० बुँदे कार्ययोजना र बजेटले ऊर्जा क्षेत्रप्रति सकारात्मक प्रतिबद्धता देखाएको उल्लेख गर्दै ऊर्जा क्षेत्रलाई खुला गर्ने सवालमा मन्त्री श्रेष्ठको कदम इतिहासमा स्मरणीय रहने विश्वास व्यक्त गर्नुभयो।
निजी क्षेत्रका विद्यमान चुनौतीबारे बोल्दै उहाँले हाल करिब १६ हजार मेगावाट बराबरका आयोजनाहरू विद्युत खरिद सम्झौताको पर्खाइमा रहेको र ती सम्झौता १८० दिनभित्र सम्पन्न हुने आशा व्यक्त गर्नुभयो। साथै, सन् २०२० मै पीपीए गरिसकेका झन्डै १०० वटा आयोजनाहरू वन विभागले रुख कटानको अनुमति नदिँदा ठप्प बनेको भन्दै उहाँले यस्ता नियन्त्रण बाहिरको परिस्थितिका कारण समस्यामा परेका प्रवर्द्धकहरूका लागि सरकारले आधिकारिक रूपमै म्याद थप गरिदिनुपर्ने माग गर्नुभयो।