पात्रो

रेडियो

समाचार खोजी

दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्षको जेल सजाय

साझा अर्थ संवाददाता २९ जेठ २०८३, शुक्रवार

काठमाडौँ, २९ जेठ : दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योललाई उत्तर कोरियासँग तनाव बढाउने उद्देश्यले ड्रोन उडानको आदेश दिएको अभियोगमा थप ३० वर्षको जेल सजाय सुनाइएको छ। सोही मुद्दामा उनका पूर्व रक्षामन्त्री किम योङ ह्युनलाई पनि सोही सजाय सुनाइएको हो।

यसअघि नै अल्पकालीन मार्सल ल लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनविरुद्ध यो अर्को गम्भीर फैसला आएको हो। सियोल केन्द्रीय जिल्ला अदालतले शुक्रबार यो फैसला सुनाएको हो।

अभियोजन पक्षका अनुसार, सन् २०२४ को अक्टोबरमा प्योङयाङमाथि ड्रोन उडाएर प्रचार सामग्री खसाल्ने योजना युनले आफैँ बनाएका थिए। उत्तर कोरियाले सोही घटनालाई लिएर दक्षिण कोरियामाथि गम्भीर आरोप लगाएको थियो, जसले दुई कोरियाबीच तनाव चरम बनाएको थियो। यद्यपि, प्रत्यक्ष सैन्य झडप भने भएन।

विशेष अभियोजक चो युन–सुकको नेतृत्वमा भएको अनुसन्धानले युनले आफ्ना राजनीतिक विरोधीहरूलाई कमजोर बनाउन र सत्तालाई केन्द्रीकृत गर्न युद्धको वातावरण सिर्जना गर्न खोजेको निष्कर्ष निकालेको थियो। यस्तै, पूर्व रक्षामन्त्री किमलाई पनि ड्रोन अभियान र मार्सल लको योजना बनाउन सहयोग गरेको अभियोग लागेको छ।

युनका कानुनी प्रतिनिधिहरूले भने यो फैसलाको आलोचना गर्दै ड्रोन उडान उत्तर कोरियाले पठाएको फोहोर बोक्ने बेलुनको प्रतिक्रिया मात्रै भएको तर्क गरेका छन्। उनीहरूले यस्तो निर्णयले दक्षिण कोरियाको राष्ट्रिय सुरक्षामा प्रतिकूल असर पार्ने चेतावनी दिएका छन्।

युनलाई गत डिसेम्बरमा मार्सल ल लगाएको अभियोगमा पहिले नै आजीवन कारावास भइसकेको थियो। त्यसबेला उनले विपक्षीलाई ‘राज्यविरोधी शक्ति’ भन्दै टेलिभिजन सम्बोधनबाट मार्सल ल घोषणा गरेका थिए, तर करिब छ घण्टामै संसद्को दबाबपछि सो फिर्ता लिन बाध्य भएका थिए। घटनापछि उनी पदच्युत भएको थियो।

हाल युनविरुद्ध विभिन्न आपराधिक मुद्दा विचाराधीन छन्। अभियोजन पक्षले यसअघि नै युनको मृत्युदण्डको माग गरिसकेको छ भने पछिल्लो ३० वर्षको जेल सजायले दक्षिण कोरियाको राजनीतिक इतिहासमा युनको पतनलाई थप गम्भीर बनाएको छ।

57 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु