काठमाडौँ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेकाले राजनीतिक समीकरणलाई हेरेर समेत आशावादी भईदिन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) सँग विहिवार अर्थमन्त्रालयमा भएको छलफलका क्रममा उहाँले यस्तो आग्रह गर्नु भएको हो । नीतिको स्थिरता तथा कार्यान्वयनको स्थायित्व आवश्यक रहेकाले यसमा केन्द्रित भई सरकारले काम गर्ने उहाँले उक्त अवसरमा बताउनु भयो । देशको अर्थतन्त्रका समस्याहरु समाधानका लागि निजी क्षेत्रसँगसँगै बसेर छलफल गरिअघिबढ्ने उहाँले आश्वासन दिनुभयो । परिसंघको तर्फबाट सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको बनोबल बढाउनुपर्ने मा जोड दिनुभयो । उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र चलायमान बन्न नसकेको उहाँको भनाई थियो । अर्थतन्त्रलाई चलायमान बनाउन समग्र माग बढ्ने नीति राज्यले लिनुपर्ने, पुँजीगत खर्च बढाउन सुनिश्चितता प्रदान गर्नुपर्नेमा उद्योग परिसंघको जोड रेहको छ ।
साझा अर्थ संवाददाता