काठमाडौं, २८ मंसिर — नेपाली युवा दीपेश कार्की सहसंस्थापक रहेको भारतको सबैभन्दा ठूलो पियर–टु–पियर (पी–टु–पी) कर्जा प्लेटफर्म ‘लेनदेन क्लब’ अब आईपीओतर्फ अग्रसर भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत भविन पटेलका अनुसार, आगामी १८–३६ महिनाभित्र प्रारम्भिक सार्वजनिक सेयर निस्कासन (आईपीओ) गर्ने तयारी पूरा गर्ने लक्ष्य राखिएको छ।
विराटनगरमा जन्मेका दीपेश कार्की र पटेलले सन् २०२५ मा मुम्बईमा ‘लेनदेन क्लब’ स्थापना गरेका थिए। कार्की प्रमुख टेक्नोलोजी अधिकृत (CTO) हुन् भने पटेल प्रमुख कार्यकारी अधिकृत (CEO) हुन्।
लेनदेन क्लब अहिले भारतको पी–टु–पी लेन्डिङ बजारमा करिब ९५ प्रतिशत हिस्सा ओगटेको सबैभन्दा ठूलो प्लेटफर्म हो। पी–टु–पी प्रणालीले ऋणदातालाई सिधै ऋण दिन र ऋणीले सजिलै ऋण लिन सक्ने सुविधा प्रदान गर्छ।
भारतीय रिजर्भ बैंक (आरबीआई)ले सन् २०२४ मा नियम कडा गरेपछि धेरै प्लेटफर्मले व्यवसाय बन्द वा घटाए, तर लेनदेन क्लबले नियम पालन गर्दै बजारमा अग्रणी बनेको छ। आर्थिक वर्ष २०२५ मा कम्पनीले २ अर्ब ३६ करोड भारु आम्दानी र ३४ करोड भारु खुद नाफा कमाएको छ। हालसम्म यस प्लेटफर्ममार्फत १ खर्ब ७६ अर्ब भारु ऋण वितरण भइसकेको र ३ करोड २५ लाखले ऋण लिइसकेको कम्पनीले जनाएको छ।
आईपीओ अघि कम्पनीले आन्तरिक पुनर्संरचना गरी १ अर्ब भारुभन्दा बढी नाफा पुर्याउने लक्ष्य राखेको छ। चालु आर्थिक वर्षमा ३–३.५० अर्ब भारु आम्दानी र ५०–६० करोड भारु नाफा हुने अपेक्षा गरिएको छ।
लेनदेन क्लबले मात्र नभई ‘भार्टिस वन’ जस्ता अन्य प्रविधि कर्जा कम्पनी पनि सञ्चालन गर्दै आएको छ र यस फर्मलाई ‘अर्थ क्यापिटल’ र ‘टस्कन भेन्चर्स’ले सहयोग गर्दै आएका छन्।