काठमाडौं । आइएमई खल्ती लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)को रुपमा प्रविण रेग्मी नियुक्त हुनुभएको छ ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको ११ औँ बैठकले रेग्मीलाई आगामी चार वर्षको लागि सोमबारदेखि लागु हुने गरी नियुक्त गरेको हो ।
यसअघि आइएमई डिजिटल सोलुसन लिमिटेडको सिइओका जिम्मेवारीमा कार्य गरेका रेग्मी मर्जर पश्चात आइएमई खल्ती लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा रहि रेग्मी संस्थाको रणनीतिक नेतृत्वदायी भूमिकामा सक्रिय हुनुहुन्थ्यो ।
फिनटेक, बैङ्किङ तथा डिजिटल ट्रान्सफर्मेसनको क्षेत्रमा डेढ दशकभन्दा बढीको अनुभवसहित उहाँले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक र सक्षम बनाउन महत्वपूर्ण योगदान पु-याउँदै आउनुभएको छ ।
बढदै गएको डिजिटल कारोबार र क्यासलेस तर्फ उन्मुख नेपाली अर्थतन्त्रको सवालमा रेग्मीले उल्लेख्य भूमिका निर्वाह गर्ने पनि कम्पनीले जनाएको छ । यस अघि कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनुभएका विनय खड्का भने आफ्नो चार वर्षे कार्यकाल पुरा गरेर विदा हुनुभएको छ ।