पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा ऐतिहासिक गिरावट: लगानीकर्ताबाट राष्ट्र बैंकलाई नीति परिमार्जनको माग

साझा अर्थ संवाददाता ५ असोज २०८२, आइतवार
समाचार सारांश

पूर्वतयारीबिना बजार खुलाइएको र नियामक संस्थाहरूले कुनै स्पष्ट मार्गनिर्देशन नगरेको कारण लगानीकर्तामा डर, अन्योलता र अविश्वास उत्पन्न

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं–सेयर बजारको अस्वाभाविक गिरावटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै लगानीकर्ताहरूले  राष्ट्र बैङ्कका गर्भनर प्रा.डा. विश्वनाथ पौडेललाई भेटेर छ बुँदे सुझाव दिएका छन् ।
पछिल्लो समय नेपालमा देखिएको राजनीतिक अन्यौलता र त्यसपछिको अप्रत्याशित सेयर बजारको गिरावटले लगानीकर्ता, विश्लेषक र आर्थिक सरोकारवालाहरूबीच गम्भीर चिन्ता उत्पन्न गराएको छ । यही विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै विभिन्न पूँजी बजारसँग सम्बन्धित संघ–संस्था तथा स्वतन्त्र लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकलाई संयुक्त ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा हालैको बजारमा देखिएको तीव्र गिरावटले लगानीकर्ताको मनोबलमात्र होइन, समग्र आर्थिक प्रणालीमा विश्वासको संकट उत्पन्न गरेको उल्लेख छ । ज्ञापनदाताहरूले नेपाल राष्ट्र बैंकको सक्रियतामै अहिलेको चुनौती समाधान हुने विश्वास व्यक्त गर्दै, पुँजी बजारको स्थायित्व र विकासका लागि ६ बुँदे स्पष्ट सुझाव प्रस्तुत गरेका छन् ।
आन्दोलनपछि बजार खुलेकै दिन १६० अंकको गिरावट, तीन खर्ब बराबरको पुँजीकरण गुम्यो
बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार पुनः सुरु भएको दिन बजारमा करिब ६ प्रतिशतको नेगेटिभ सर्किट लाग्यो। सो दिनको कारोबार ७२ करोड रुपैयाँमा सीमित रह्यो भने नेप्से सूचकांकमा १६० अंकभन्दा बढीको गिरावट आयो । यस गिरावटसँगै बजारको कुल पुँजीकरणमा करिब ३ खर्ब रुपैयाँको ह्रास आएको अनुमान गरिएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘‘पूर्वतयारीबिना बजार खुलाइएको र नियामक संस्थाहरूले कुनै स्पष्ट मार्गनिर्देशन नगरेको कारण लगानीकर्तामा डर, अन्योलता र अविश्वास उत्पन्न भएको हो ।’’ यसअघि पनि, २०६२/६३ को जनआन्दोलन, २०७२ को भूकम्प वा कोभिड–१९ का कठिन समयमा समेत यस्तै सावधानी नअपनाउँदा सेयर बजारमा हानिकारक गिरावट देखिएको ऐतिहासिक दृष्टान्त दिँदै, यसपटक पनि त्यही गल्ती दोहोरिएको बताइएको छ ।
यस्ता छन् गभर्नरसमक्ष प्रस्तुत गरिएका सुझाव
ज्ञापनपत्रमार्फत लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकलाई छ मुख्य सुधारात्मक नीतिगत सुझावहरू
१. बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा कारोबार गर्न दिने नीति बनाइनुपर्छ
हाल बैंक तथा वित्तीय संस्थाहरूलाई शेयर बजारको दोस्रो बजारमा कारोबार गर्न नदिने नीतिगत व्यवधानका कारण बजारमा तरलता अभाव भएको जनाइएको छ। यी संस्थाहरूलाई विवेकपूर्ण ढंगमा कारोबार गर्ने छुट दिने हो भने, दीर्घकालीन तरलता बृद्धि हुनुका साथै बजारमा स्थायित्व आउने विश्वास व्यक्त गरिएको छ ।
२. एकल लगानीकर्ताको लागि २५ करोडको शेयर धितो कर्जा सीमा खारेज गर्नुपर्ने
लगानीकर्ताहरूले धेरै समयदेखि आलोचना गर्दै आएको यो सीमा हटाउने हो भने व्यक्तिगत लगानीको पहुँच सहज हुनेछ। ज्ञापनमा भनिएको छ, ‘‘यो सीमा वर्तमान आर्थिक तथा बजार परिवेश अनुसार अप्रासंगिक भएकोले तत्काल खारेज गर्नुपर्छ ।’’
३. लघुवित्त संस्थाको लाभांश वितरणमा लचिलोपन आवश्यक
लघुवित्तहरूले २५ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न नपाउने अहिलेको नीति प्रतिस्पर्धी वातावरणको विरुद्धमा रहेको भनिएको छ । संस्थाहरूले आ–आफ्नो नाफा, जोखिम र वित्तीय क्षमताका आधारमा लाभांश निर्धारण गर्न पाउनुपर्ने माग राखिएको छ ।
४. बैंकहरूको पुँजी बजारमा लगानी सीमा अद्यावधिक गर्नुपर्ने
बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अनुसारको सीमा कार्यान्वयन गर्नु पर्ने मागसहित, हाल प्रचलित अनावश्यक प्रतिबन्धहरू हटाउनुपर्ने सुझाव दिइएको छ ।
५. सेयर कर्जाको सीमा समयसापेक्ष रूपमा पुनरावलोकन गर्नुपर्ने
बजार विस्तारसँगै अहिलेको सेयर कर्जा सीमा निकै पुरानो र अव्यवहारिक भएको भन्दै, वर्तमान आर्थिक परिप्रेक्ष्य अनुरूप समायोजन आवश्यक रहेको सुझाव दिइएको छ ।
६. गैरआवासीय नेपालीको लगानीमा सहजता ल्याउनुपर्ने
एनआरएनए लगानीकर्ताहरूले नेपालको पुँजी बजारमा लगानी गर्दा नाफा स्वदेशबाहिर लैजानका लागि कठिन प्रक्रिया सामना गर्नु परिरहेको छ । यो समस्या समाधान गर्न कानुनी तथा प्रक्रियागत सुधारको माग गरिएको छ, जसले अन्तर्राष्ट्रिय लगानी भित्र्याउन सहयोग गर्नेछ ।
ज्ञापनपत्र बुझाउन लगानीकर्ता छोटेलाल रौनियार, नेपाल पुँजीबजार लगानीकर्ता संघका महासचिव एस.पी. चौलागाई, स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष डिल्लिश्वर कार्की (रोहन) र सेयर लगानीकर्ता संघ, नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेललगायतको उपस्थिति रहेको थियो ।
उनीहरूले नेपाल राष्ट्र बैंकसँग यथाशीघ्र नीति परिमार्जन तथा बजारमैत्री निर्णयहरू लिई लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न आग्रह गरेका छन् ।

197 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ