दोलखाः भीमेश्वर नगरपालिका वडा नम्बर एक स्थित क्षमावती माध्यमिक विद्यालय पूर्व शिक्षक विद्यार्थी समाजका संस्थापक अध्यक्ष एवं रसियाकालागि पूर्व नेपाली राजदुत मिलनराज तुलाधरले क्षमावती माध्यमिक विद्यालयमा शिक्षक ब्यवस्थापनलगायतकालागि पाँचलाख रुपैयाँ सहयोग गर्नु भएको छ । शुक्रवार विद्यालयमा आयोजित पूर्व शिक्षक विद्यार्थी समाज तथा विद्यालय विचको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा तुलाधरले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद शिवाकोटीलाई पाँचलाखको चेक हस्तान्तरण गर्नु भएको हो । तुलाधर क्षमावती माविका पूर्व प्रधानअध्यापक समेत हुनुहुन्छ ।
भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विद्यालयको समग्र अवस्था तथा उच्चतम शैक्षिक उपलब्धी कसरी हाँसिल गर्न सकिन्छ भन्ने बारेमा सरोकारवालाहरुविचमा ब्यापक छलफल भएको थियो । अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख मानन्धरले विद्यालयको भौतिक विकासका साथै शैक्षिक गुणस्तर उकास्न पनि शिक्षक,विद्यार्थी तथा अभिभावकहरु लाग्नु पर्नेमा जोड दिनु भएको थियो । सोही कार्यक्रममा नगर प्रमुख मानन्धरले भीमेश्वर नगरापालिका वडा नम्बर एकका वासिन्दाको प्रमुख मागको रुपमा रहेको पानीघाट–देउराली सडकको स्तरोन्नतिकोलागि आफूले काम गरिरहेको बताउँदै आगामी आर्थिक वर्षमा सडकको स्तरोन्नतिकोलागि रकम विनियोजन हुने बताउनु भयो । कार्यक्रममा एसईई प्रोत्साहन कार्यक्रम अन्तर्गत गत वर्ष सो परीक्षामा उत्कृष्ट अंक ल्याने विद्यार्थी तथा कक्षा १० मा अध्यापन गर्ने शिक्षकहरुलाई सम्मानित गरिएको विद्यालयका प्रधानाध्यापक ध्रुवराज सुवेदीले जानकारी दिनुभयो । क्षमावती मावि पूर्व शिक्षक विद्यार्थी समाजले आमविनाशकारी भुकम्पले ध्वस्त भएको विद्यालयको मुख्य भवन निर्माण, छात्रावासको निर्माण लगायतका काम सम्पन्न गरिसकेको छ ।
कार्यक्रममा वडा नम्बर एकका वडाध्यक्ष माधव थामी, भीमेश्वर नगर कार्यपालिकाका सदस्य गोपाल थामी, पूर्व शिक्षक विद्यार्थी समाजका अध्यक्ष शंकरराज शिवाकोटी, सल्लाहकार बरिष्ठ ईञ्जीनीयर माधवप्रसाद खकुरेल, पूर्व विब्यस अध्यक्षहरु श्यामप्रसाद शिवाकोटी, विष्णुप्रसाद सुवेदी, पूर्व प्रधानाध्यापकहरु मनमोहन श्रेष्ठ, नवराज शिवाकोटी लगातको उपस्थिति रहेको थियो । कार्यक्रम क्षमावती माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
साझा अर्थ संवाददाता