काठमाडौंः आफ्ना पेशागत माग राखि आन्दोलनमा उत्रिएका सामूदायिक विद्यालयका शिक्षकहरुलाई सरकारले बार्तामा बोलाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बार्तामा बोलाएको हो ।
विज्ञप्तिमा मन्त्रालयले शिक्षा विधेयक प्रतिनिधिसभामा पेश भई छलफलको प्रकृयामा रहेकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट ध्यानाकर्षण गराउँदै आएको विषयप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाइएको छ ।
विधेयक संसदमा पेस हुने, छलफल हुने र स्वीकृत हुने विधायकी प्रकृयाका सम्बन्धमा निश्चित कानुनी बन्दोबस्त रहेको भएतापनि शिक्षक समुदायसँग विगतझैँ फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार हमेशा तयार रहेकाले यसका लागि शिक्षक तथा कर्मचारीका प्रतिनिधिहरूलाई मन्त्रालयमा वर्ताकालागि बोलाइएको मन्त्रालयका प्रबक्ता शिवकुमार सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका शिक्षकहरूले बुधवारदेखि तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै राजधानीमा विरोध प्रदर्शन गरिरहेका छन् ।

साझा अर्थ संवाददाता