काठमाडौँ : गएरातिदेखिको लगातारका वर्षाका कारण काठमाडौंको जनजीवन प्रभावित भएको छ । निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढ्नाका साथै किनार र आसपासका बस्ती बस्तीमा पानी पस्ने तथा सडक जलमग्न भएका कारण जनजीवन प्रभावित भएको हो ।
देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार परिसरमा रहेका कतिपय मन्त्रालयको प्रवेशद्वार अगाडि पानी जम्दा असहज आवतजावत गर्न असहज देखिएको छ । वर्षाले उपत्यकाको ‘ट्राफिक’ ब्यवस्थापन पनि अस्तव्यस्त बनेको थियो । कार्यालय समयमा सवारीसाधन एक घण्टासम्म लामो जाममा परेका थिए । लगातारको वर्षाले बिहान १० देखि ११ बजेसम्म काठमाडौँका अधिकांश सडकमा ट्राफिक जाम भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले वर्षा रोकिएसँगै जनजीवन सामान्य बन्दै गएको छ । विशेषगरी करिडोरका सडकमा पानी जमेको, भद्रकाली, पुतलीसडक, पद्मोदय, माइतीघर र कुपण्डोल क्षेत्रको सडकमा पानी जमेकाले सवारी आवागमनमा अवरोध भएको ट्राफिक प्रहरीले जनाएको छ ।
वर्षाले सडक र चोकमा सर्वसाधारणको भीड देखिन्थ्यो भने दुईपाङ्ग्रे सवारीसाधनका यात्रु बढी मर्कामा परेका छन् । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेकाले आज र भोलि मनसुन सक्रिय भई भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साझा अर्थ संवाददाता