sajhaartha.com ९ पुष २०८१, मङ्गलवार
९ पुष २०८१, मङ्गलवार
24th, December 2024, Tuesday
ताजा खबर

तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

२२ साउन २०८१, मङ्गलवार साझा अर्थ संवाददाता
152
Shares

राँझा (बाँके), २२ साउनः होलिया र गङ्गापुरलाई जोड्न राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका नागरिकले डुङ्गा चढ्नुपर्ने बाध्यता छ । बाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा धेरै भइसके पनि नदी तटीय क्षेत्रका धेरै गाउँका बासिन्दा अहिले पनि डुङ्गाकै भरमा नदी तर्ने गर्दछन् । राप्तीपारिका आधा दर्जन गाउँका सर्वसाधारण अहिले पनि दैनिक डुङ्गामा जोखिमपूणर् यात्रा गर्न बाध्य रहेको नरैनापुर गाउँपालिका-६ गङ्गापुरका स्थानीय सोहनलाल यादवले बताउनुभयो ।

उहाँका अनुसार, राप्ती सोनारीको खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायतका गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाटबजार गर्न डुङ्गा चढेर नदीपारि जाने गर्दछन् । खल्ला झगडिया गाउँभन्दा अलिकति अगाडि डुङ्गा सधैँ तयारी अवस्थामा रहन्छ ।

“नदी तर्न पक्की पुल सिधनियाघाट पुग्न धेरै टाढा पर्छ, यता झोलुङ्गे पुल छैन, त्यसैले डुङ्गा चढ्नुको विकल्प छैन”, राप्ती सोनारी-७ खल्लाझगडिया नयाँबस्तीका स्थानीय शङ्कर यादवले भन्नुभयो, “हिउँदवर्षात् जहिले पनि डुङ्गाबाट राप्ती नदी वारपार गर्ने गरेका छाँै ।”

डुङ्गामा नदी तारेको प्रतिव्यक्ति रु १० तिर्नु पर्दछ । गाईभैँसीलाई बोकेबापत रु २०, साइकलको रु १५ र मोटरसाइकलको रु ६० लिने गरेको डुङ्गाचालक नानबाबु पासीले बताउनुभयो । डुङ्गामा एकैपटक ५० देखि ६० जना मान्छे र मालसमान नदी वारपार गराउने गरेको पासी बताउनुहुन्छ । 

हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा लाग्ने हाटबजारमा नेपाली गाउँका सयौँ नागरिक किनमेलका लागि पुग्ने गर्छन् । हाटबजारमा राप्तीवारि डुडुवा गाउँपालिका होलिया, बेतहनी र राप्तीपारि राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर र नरैनापुर गाउँपालिकाको गङ्गापुर र मटेहियाका दर्जनौँ नागरिक डुङ्गा तरेर जाने गर्दछन् ।

भारतीय हाटबजारमा तरकारी लगायत उपभोग्यवस्तु सस्तो पाइने भएकाले अधिकांश किनमेल गर्न त्यतै जाने गरेका डुङ्गाचालक पासीले बताउनुभयो । डुडुवा गाउँपालिका-१ होलियाका कुडुवा, कृषि चौफेरी, वर्डर चौफेरी छिटइपुर्वा, टेपरी प्रिपहवा खडैचा कन्दइपुर्वा सन्तलीया नयाँबस्तीका सयौँ बासिन्दाको डुङ्गा चढेर राप्ती नदी वारपार गर्नु दिनचर्या भएको स्थानीय झगरु लोनियाले बताउनुभयो । 
राप्ती तटीय क्षेत्रका नागरिक राप्तीको डुबान तथा कटान नियन्त्रण र जोखिम मोलेर डुङ्गामा सवार हुनुपर्ने समस्या अन्त्यका लागि मटेहिया र होलिया जोड्ने पक्की पुल निर्माणका लागि पहल भइरहेको सांसद सूर्य ढकालले जानकारी दिनुभयो ।(रासस)

साझा अर्थ संवाददाता
२२ साउन २०८१, मङ्गलवार

152

Shares