प्रधानमन्त्री केपी ओली १७ मंसिर सोमबार चारदिने औपचारिक भ्रमणका लागि चीन जाने तय भएको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार प्रधानमन्त्रीको चारदिने भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच मंगलबार भेटवार्ता हुनेछ। प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबिच दिवाभोजसहित औपचारिक वार्ता हुने कार्यक्रम छ। सोही दिन नेपाल–चीनबिच विगतमा घोषणा भएका परियोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुनेछ।
प्रधानमन्त्री ओलीले बुधबार नेपाल–चीन उद्योगी–व्यवसायीहरूको सम्मेलनमा सहभागी हुने, पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने र नेपाली राजदूतावासद्वारा आयोजित कार्यक्रममा सहभागी हुने तय भएको छ। प्रधानमन्त्री ओली सोमबार हिमालय एयरलाइन्सको चार्टर उडानबाट बेइजिङ जाने कार्यक्रम छ।
मन्त्रिपरिषद्ले प्रधानमन्त्री ओलीपत्नी राधिका, परराष्ट्रमन्त्री आरजु राणा देउवा, मुख्य सल्लाहकार विष्णु रिमाल, अर्थ सल्लाहकार युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, कामु परराष्ट्रसचिव अमृतबहादुर राई, अर्थसचिव रामप्रसाद घिमिरे, लगानी बोर्डका सिइओ सुशील ज्ञवाली, प्रमुख दलका सांसद, सुरक्षाकर्मी र सचिवालयका कर्मचारीसहित ३२ जनाको भ्रमण स्वीकृत गरेको छ।
साथै, तीन दर्जनजति उद्योगी–व्यापारी पनि निजी खर्चमा प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी हुनेछन्।
साझा अर्थ संवाददाता