गोरखाः गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले निःशुल्क स्वास्थ्य विमा गर्न सुरुगरेको हो ।
आवश्यक बजेट विनियोजन गरी पालिकाभित्रका सबै विपन्न र दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न थालनी गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो । स्वास्थ्य बीमा गराउन सबै वडामा एक-एकजना बीमा दर्ता सहयोगकर्ता परिचालन गरिएको उहाँको भनाई रहेको छ । गाउँपालिकाको वडा नम्बर १ र २ मा निःशुल्क स्वास्थ्य बीमा गराउने कार्यक्रम सुरु भइसकेको र अन्य वडामा केही दिनभित्रै कार्यक्रम सुरु हुने गाउँपालिकाले जनाएको छ । दलित घरपरिवारमध्ये रोजगारीमा रहेका वा सार्वजनिक पद धारण गरेका व्यक्तिका परिवारले भने आफैँले बीमाबापतको रकम बुझाएर अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था गरिएको गाउँपालिकाको भनाई रहेको छ । विपन्न एवं दलित घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमामा आबद्ध गराउन मुटु फाउन्डेसनसँग पनि गाउँपालिकाले सहकार्य गरेको छ ।
साझा अर्थ संवाददाता