काठमाडौँ, ८ असार: साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचकमा झिनो गिरावट आएको छ। तीव्र उतारचढावका बीच आज नेप्से परिसूचक १.४६ अङ्क (०.०५ प्रतिशत) ले घटेर २,७००.६५ को विन्दुमा बन्द भएको छ।
परिसूचकमा सामान्य गिरावट देखिए पनि बजारमा सेयर कारोबार रकम भने उत्साहजनक रहेको छ। आज दिनभर कुल ८१ लाख ३८ हजार ४३३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४४ करोड ६५ लाख २० हजार २४७ रुपैयाँ बराबरको कारोबार भएको छ।
बजार २,७०० को मनोवैज्ञानिक विन्दु माथि नै टिक्न सफल हुनु र टर्नओभर ४.४४ अर्ब माथि रहनुले लगानीकर्ताहरू तल्लो विन्दुमा आक्रामक रूपमा सेयर खरिद गरिरहेको सङ्केत गर्दछ।