काठमाडौँ, ४ असार : नेपाल धितोपत्र बजारलाई थप चलायमान र सुदृढ बनाउने उद्देश्यका साथ नेप्से ले लगानीकर्ताहरूका लागि मार्जिन ट्रेडिङ सुविधा खुला गरेको छ। यस व्यवस्थासँगै अब साधारण लगानीकर्ताहरूले बैंक तथा वित्तीय संस्था धाइरहनु नपर्ने गरी आफ्नै सेयर ब्रोकर कम्पनीमार्फत सिधै मार्जिन सुविधा उपभोग गर्न पाउने भएका छन्।
नेप्सेले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्ममा कुल ३१ वटा ब्रोकर कम्पनीहरूलाई मार्जिन ट्रेडिङ सञ्चालनको पूर्ण इजाजतपत्र (लाइसेन्स) जारी गरिसकेको छ। यसबाहेक अन्य २४ वटा ब्रोकर कम्पनीहरूले पनि यो सेवा प्रदान गर्न नेप्सेबाट आशय पत्र (एलओआई) प्राप्त गरिसकेका छन्, जसलाई आवश्यक प्रक्रिया पूरा हुनासाथ चाँडै पूर्ण अनुमति दिइने नेप्सेले जनाएको छ।