काठमाडौँ : वाणिज्य बैंकहरूले जेठ महिनाका लागि मुद्दती निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक दरअनुसार अधिकांश बैंकहरूले अघिल्लो महिनाकै ब्याजदर कायम राखेका छन् भने केही बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्।
जेठ महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ एनएमबी बैंकले सबैभन्दा धेरै ४.८ प्रतिशत ब्याजदर दिने भएको छ। वैशाखमा ५ प्रतिशत रहेको उक्त दर जेठका लागि ०.२ प्रतिशत बिन्दुले घटाइएको हो।
व्यक्तिगत मुद्दती निक्षेपतर्फ सबैभन्दा कम ब्याजदर कुमारी बैंकको रहेको छ। कुमारी बैंकले जेठका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ३.९६ प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ।
हिमालयन बैंक, नेपाल बैंक र एनआइसी एसिया बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले पनि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ।
संस्थागत मुद्दती निक्षेपतर्फ सिटिजन्स बैंक इन्टरनेसनलले ब्याजदर बढाएर ३.५ प्रतिशत पुर्याएको छ। कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र एनआइसी एसिया बैंकले भने संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्।
कृषि विकास बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक र राष्ट्रिय वाणिज्य बैंकले जेठका लागि मुद्दती निक्षेपको ब्याजदर यथावत् राखेका छन्।