पात्रो

रेडियो

समाचार खोजी

म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

साझा अर्थ संवाददाता १९ वैशाख २०८३, शनिवार
समाचार सारांश
  • म्याग्दी नदीका ३ जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय ग्रिडमा जोड्न १३२ केभी क्षमताको म्याग्दी 'कोरिडोर' प्रसारण लाइन निर्माण सुरु भएको छ।
  • १६.४८ किलोमिटर लामो यो प्रसारण लाइनले १६४.७५ मेगावाट बिजुली जोड्नेछ, जसको अनुमानित लागत रु ४२ करोड ६२ लाख छ र ८ महिनामा सम्पन्न गर्ने लक्ष्य छ।
This summary was generated by AI and has been editorially reviewed.

म्याग्दी, १९ वैशाखः १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालिएको छ । धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन तीन वटा जलविद्युत् आयोजनाले उत्पादन गर्ने विद्यु्त्लाई राष्ट्रिय प्रणालीमा जोड्न संयुक्त रुपमा ‘डबल’ र ‘मल्टी’ सर्किट प्रसारण लाइन बनाउन सुरु गरिएको हो ।    
    
 धवलागिरि गाउँपालिका–४ जेल्तुङदेखि वडा नं ३ र ७ हुुँदै मालिका गाउँपालिका–७ मा रहेको नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेसन जोड्ने १६ दशमलब ४८ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुन लागेको हो ।    
    
 यस आयोजनाबाट तीन वटा आयोजनाबाट उत्पादन हुने १६४ दशमलब ७५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिने माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी हाइड्रो इम्पाएरका सञ्चालक पूर्णबहादुर पुनले बताउनुभयो ।    
     
 कुल ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ४६.२५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी र ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युुत् आयोजनाले साझेदारी गरेर बनाउन लागेको आयोजनाको ५७ वटा टावर निर्माण हुुनेछन् ।    
    
 कुुल रु ४२ करोड ६२ लाख लागत अनुुमान गरिएको आयोजना निर्माणका लागि आठ दशमलव ४० हेक्टर निजी र २१ दशमलब ९९ हेक्टर राष्ट्रिय वनको जग्गा प्रयोग हुनेछ ।    
    
 सार्वजनिक वन प्रयोग गरेबापत सरकारलाई जग्गा सट्टाभर्ना गरिने, टावर रहने निजी जग्गा खरिद तथा प्रसारण लाइनको क्षेत्राधिकारमा पर्ने जग्गाका धनीहरुलाई क्षतिपूर्ति उपलब्ध गराइने आयोजनाले जनाएको छ ।    
    
 आयोजना निर्माणका क्रममा हुुन सक्ने वातावरणीय प्रभाव न्यूनीकरणका लागि रु ४१ लाख ७५ हजार र सामाजिक सहयोग कार्यक्रमका लागि रु २१ लाख ३१ हजार रकम प्रस्ताव गरिएको छ ।    
    
 प्रभावित क्षेत्रका बासिन्दाको सुुझाव समेटेर वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि निर्माण सुुरु हुुने प्रसारण लाइन आयोजना आठ महिनामा सम्पन्न गरिने म्याग्दीखोला जलविद्युत् आयोजनाका प्रमुख उत्तम पौडेलले बताउनुभयो ।    
    
 विसं २०८१ असोज ६ गते सर्वेक्षण अनुुमति प्राप्त भएको म्याग्दी कोरिडोर प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षणको कार्यसूची ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २०८१ साल चैत १२ गते स्वीकृत भएको थियो ।    

38 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु