पात्रो

रेडियो

समाचार खोजी

म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु, २०८४ चैतमा उत्पादनको लक्ष्य

साझा अर्थ संवाददाता १४ वैशाख २०८३, सोमवार

म्याग्दी, १४ वैशाख । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ। हाइड्रो भिलेज प्रालि प्रवर्द्धक रहेको आयोजनाले पहुँचमार्ग, विद्युत्गृह, सुरुङ र प्रसारण लाइनको काम समानान्तर रूपमा अघि बढाएको जनाएको छ।

आयोजनाका प्रमुख उत्तम पौडेलका अनुसार बगर–तातोपानी खण्डको भिरमा सडक निर्माण नसकिँदासम्म म्याग्दी नदीको किनारैकिनार डाइभर्सन मार्ग बनाएर बाँध निर्माणस्थल दोभानसम्म करिब १० किलोमिटर पहुँचमार्ग पुर्याइएको छ। विद्युत्गृहबाट पानी फाल्न १,१३० मिटर लामो ‘टेलरेस’ सुरुङ निर्माण थालिएको छ। सिभिल ठेकेदार भूगोल इन्फ्रास्ट्रक्चरले विद्युत्गृह, बाँध र मुख्य सुरुङ खन्ने तयारी गरेको पौडेलले बताए।

म्याग्दी र कुनाबाङ खोलाको दोभानमा बाँध बनिनेछ। ७५ मिटर लामो र ११.९ मिटर अग्लो डिसेन्डर (बालुवा थिग्राउने पोखरी) मा पानी सङ्कलन गरी ७१० मिटर पाइपलाइनबाट ल्याएर ३,६०० मिटर लामो मुख्य सुरुङमा हालिनेछ। पुनः ७५० मिटर पाइपलाइनबाट पानीलाई ६०७ मिटर उचाइबाट भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ।

‘रन अफ रिभर’ प्रकृतिको यस आयोजनामा २०९ मिटर ठाडो सुरुङ, २३० मिटर प्रेसर टनेल, ५८७ मिटर इनक्लाइन्ट टनेल र ७५७ मिटर पेनस्टक पाइप रहनेछन्। विद्युत्गृहमा तीन युनिट टर्बाइन जडान हुनेछन्। सुक्खायाममा प्रतिघण्टा ११७.८२ र बर्खायामा २६४.४५ गिगावाट विद्युत् उत्पादन हुने आयोजनाको अनुमान छ।

बगर र तातोपानीबीचको पहाडमा ६४० मिटर सुरुङ खनेर भूमिगत विद्युत्गृह बनाइँदैछ। १६.५ किलोमिटर टाढाको डाँडाखेत सबस्टेसनमा १३२ केभी डबल मल्टीसर्किट प्रसारण लाइन जोडिनेछ। प्रतिमेगावाट २० करोडका दरले कुल १३ अर्ब रुपैयाँ लागत अनुमान छ। विसं २०८४ चैतदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना व्यवस्थापक प्रमेश थापाले जानकारी दिए। सिभिल ठेकेदार गत पुसदेखि परिचालनमा छन् भने इलेक्ट्रोमेकानिकल ठेकेदार छनोटको अन्तिम चरणमा छन्।

59 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु