काठमाडाै: डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड एक आपसमा गाभिई “आईएमई खल्ती लिमिटेड” को नामबाट कारोबार गर्ने भएका छन्। दुवै संस्थाबाट सञ्चालन हुदै आएको भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबार आगामी २०८२ साउन १ गते बिहीबारका दिन देखी एकीकृत रुपमा ‘आईएमई खल्ती लिमिटेड’ को नामबाट सञ्चालन हुने छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले यी दुईलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो। मर्जर पश्चात कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौं, पानीपोखरीस्थित रहनेछ। मर्जरपछि एपको नाम भने खल्ती रहनेछ।
मर्जरपछि खल्ती प्रयोगकर्ताको संख्या ५० लाखभन्दा बढी पुग्नेछ। योसँगै चुक्ता पुँजी र प्रयोगकर्ता आधार दुवै हिसाबले नेपालको सबैभन्दा ठूलो एप खल्ती हुने छ।
आइएमई पेका प्रयोगकर्ताहरूको वालेटमा रहेको ब्यालेन्स र रिवार्ड प्वाइन्टहरू स्वचालित रूपमा नयाँ खल्ती एपमा स्थानान्तरण हुने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। आइएमई पेमा मात्र रहेका प्रयोगकर्ताहरूलाई उनीहरूको स्वीकृतिमा खल्तीमा समावेश गरिने र आइएमई पेमा उपलब्ध सबै सुविधाहरू अब एकीकृत खल्ती एपमा पनि उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ।
साझा अर्थ संवाददाता