काठमाडाै: नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्न कार्यदल गठन गरेको छ। केन्द्रीय बैंकले नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा हालै तीन सदस्यीय कार्यदल गठन गरेको हो।
पूर्वबैंकर भुवनकुमार दाहाल सदस्य रहेको उक्त कार्यदलमा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेल सदस्य सचिव रहने केन्द्रीय बैंकले जनाएको छ।
कार्यदलको समयावधि भने एक महिनाको रहेको केन्द्रीय बैंकले जनाएको छ। केन्द्रीय बैंकले आगामी मौद्रिक नीति ल्याउन बैंकिङ क्षत्रेका समस्या सम्बोधन गर्ने गरी अध्ययन गराउन लागेको हो।
कार्यदल बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील, जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा अध्ययन गर्नेछ।
साथै कार्यदलले आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाको सम्बन्धमा समेत अध्ययन गरी केन्द्रीय बैंकलाई सुझाउने छ। कार्यदललले ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा पनि अध्ययन गरी उपयुक्त सुझाव दिनेछ।
बैंक तथा वित्तीय संस्थाको मर्जरपछिका समस्याहरूको पहिचान तथा समाधान गर्ने विषयमा पनि कार्यदलले अध्ययन तथा अनुसन्धान गर्नेछ। नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा पनि कार्यदलले काम केन्द्रीय बैंकले सुझाएको छ।
कार्यदलले पूँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका विषयमा पनि अध्ययन गरी सुधारका लागि आवश्यक कदम सुझाउने छ।
साझा अर्थ संवाददाता