जुटले उचित मूल्य नपाउँदा किसान चिन्तित
काठमाडौः जुटले उचित मूल्य नपाउँदा मोरङका किसान चिन्तित बनेका छन् । पूर्वी तराई क्षेत्रमा वर्षौँदेखि नगदे बालीका रूपमा लगाउने गरिएको जुटखेतीले पछिल्लो समय उचित मूल्य नपाई किसानको लागत खर्च पनि उठ्न गाह्रो भएपछि उनीहरु चिन्तित बनेका हुन् । उचित मूल्य नपाएकै कारण विगत वर्षहरूमा तीनदेखि पाँच बिघासम्ममा जुटखेती गर्दै आएकामा यस वर्ष एक बिघा १० कठ्ठामा मात्र खेती गरिएको धनपालथान गाउँपालिका वडा नम्बर एक नोचाका किसान काशीनाथ चौधरीलेचौधरीले बताउनुभयो । तराईका अन्य खेतीभन्दा धेरै जुटखेती झन्झटिलो भएका कारण पनि आकर्षण घट्दै गएको उहाँको भनाई रहेको छ । विगत वर्षहरूमा जुट सफाइ (धुने) गर्ने मजदुरलाई ४० मुठा धोएबापत छ मुठा दिने चलन थियो, अहिले ४० मुठा धोएबापत १० मुठासम्म दिँदा पनि धुने मानिस भेट्न छाडिएको किसान काशीनाथ चौधरी बताउनुभयो ।
किसानले जुटखेतीतर्फको आकर्षण घट्दो बताए तापनि तथ्याङ्कमा भने वार्षिक रूपमा उत्पादन बढेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा मोरङमा सात हजार तीन सय ५१ दशमलव ५० मेट्रिक टन, आव २०७९/८० मा सात हजार चार सय नौ दशमलव ५० मेट्रिक टन र आव २०८०/८१ मा सात हजार सात सय ३१ मेट्रिक टन जुट उत्पादन भएको हुँदा विगत वर्षमा भन्दा यस वर्ष उत्पादन बढेको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताउनुभयो । नेपालमा उत्पादित जुट सबै स्वदेशमै खपत हुने गरेको छ । नेपालमा भारत र बङ्गलादेशबाट जुट आयात हुने गरेको छ ।